उपप्रधानमन्त्री श्रेष्ठ ल्हासामा ः नाका खोल्ने निर्णय कार्यान्वयनमा लैजाने तिब्बत सरकारको वचन

२०८० चैत्र १८, आईतवार
पढ्ने समय : < 1 मिनेट

चैत १८
चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ तिब्बतको राजधानी ल्हासा पुगेका छन । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत सचिव एवं सरकार प्रमुख वाङ छुङछेङसँग भएको भेटवार्तामा श्रेष्ठले सीमावर्ती क्षेत्रका समस्याबारे छलफल गरेका छन ।

नेता वाङले बेइजिङमा श्रेष्ठ र उनका समकक्षी वाङ यीबीच सबै नाका खोल्ने निर्णय कार्यान्वयनमा लैजाने वचन दिएका छन । पार्टी सचिव वाङले नेपाल र चीन सरकारबीच भएका सहमति कार्यान्वयन भइरहेको बताएका थिए ।
तिब्बत सरकारका वरिष्ठ अधिकारीलाई साथमा राखेर उनले तिब्बतले क्षमताले भ्याएसम्म नेपालको विकासमा साथ दिने प्रतिबद्धता जनाएका छन। ‘नेपाल र चीनबीचका १४ वटा नाका खुल्छन । मौसमको अनुकूलता हेरेर कार्यान्वयन गर्छौँ,’ तिब्बत सचिव वाङलाई उद्धृत गर्दै नेपाली अधिकारीले भने । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग १० असोजमा ल्हासामा भएको भेटमै तिब्बत सरकारले सबै परम्परागत नाका खोल्ने जनाएको थियो ।

नेपाल र तिब्बत जोडिएका तातोपानी, रसुवा र हिल्सा नाका अन्तर्राष्ट्रिय नाकाका रूपमा सञ्चालन भइसकेका छन । प्रचण्डकै भ्रमणका वेला किमाथांका र ओलाङचुङगोला नाका द्विपक्षीय व्यापरिक प्रयोजनका लागि खोल्ने चिनियाँ प्रतिबद्धता थियो । पूर्वाधार अभावका कारण पूर्ण क्षमतामा यी नाका सञ्चालन हुन सकेका छैनन ।
नेपालको चीन जोड्ने गेटवेका रूपमा तिब्बतसँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको छ । उपप्रधानमन्त्री श्रेष्ठले काठमाडौं र ल्हासाबीच बस सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । तिब्बत पार्टी सचिव वाङले यसमा चीन सरकार सकारात्मक भएको बताएका थिए । तिब्बत सचिव वाङलाई चीन सरकारले नेपाल–चीन सम्बन्धका लागि इन्चार्ज तोकेको छ । उपप्रधानमन्त्री श्रेष्ठले नेपाली ट्रक एवं सवारीचालकलाई तिब्बत जाने प्रवेश अनुमतिपत्रको व्यवस्था गर्न, सीमा क्षेत्रमा नेपाली पशुहरूलाई तिब्बती क्षेत्रमा चरिचरनका लागि सहजीकरण गर्न अनुरोध गरेका थिए । सवारी पासका विषयमा तिब्बत सरकारले आवश्यक गृहकार्य गर्ने आश्वासन दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय