चार सय वर्ष पुरानो गुम्बा निर्माणमा भारतीय सहयोग

२०८० चैत्र ९, शुक्रबार
पढ्ने समय : 2 मिनेट

चैत्र ९

भोटेकोसी गाउँपालिका–१ लिस्तीस्थित चार सय वर्ष पुरानो ज्याङ्तेर लिस्ती पावो गुम्बाको पुनःनिर्माणका लागि भारतीय सरकारको ९ करोड ८३ लाख अनुदान उपलब्ध गराएको छ ।

भारत सरकारको पुनर्निर्माण अनुदान परियोजनाअन्तर्गत प्राप्त सहयोगबाट गुम्बा निर्माण सुरु गरिएको छ । स्थानीय सहयोगमा बनाएको गुम्बालाई भूकम्पले ध्वस्त बनाएका कारण पुनर्निर्माण हुन सकेको थिएन । स्थानीयको लामो प्रयासपछि सहरी विकास तथा भवन आयोजनाको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले कार्यान्वयन गर्नेगरी बिहीबार गुम्बाको शिलान्यास गरिएको छ ।

भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बू शेर्पा, कार्यान्वयन इकाइका निर्देशक प्रमुख कोषनाथ अधिकारी र नेपालस्थित भारतीय दूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्तरुपमा गुम्बा शिलान्यास गरे । उक्त गुम्बा २०८२ साल फागुनमा पूरा गर्ने लक्ष्य राखिएको छ ।

स्थानीय अगुवा दार्जे लामाका अनुसार पुरानो पुरातात्विक संरचनाको रुपमा यकिन गरिएको उक्त गुम्बा भूकम्पले पूरै भत्किएको थियो । भूकम्प गएको ८ वर्षपछि पुनर्निर्माण सुरु भए पछि गाउँले निकै खुसी भएको उनले बताए । उनले भने, ‘हामीले आफैले चन्दा उठाएर झण्डै २ करोड खर्चेर बनाएको छोटो समयमै भूकम्पले गुम्बा भत्केका कारण निरासा भएको थियौं । अहिले भारतीय सहयोगमा पुनर्निर्माण हुन लागेकोमा गाउँभर खुसी छाएको छ ।’ वडाध्यक्ष राजु लामाका अनुसार नेपाल–चीन सीमामा पर्ने उक्त लिस्ती गाउँका अधिकांश बुद्धधर्ममा विश्वास राख्नेहरुको बाहुल्यता छ ।

कार्यक्रममा आयोजना कार्यान्वयन इकाइका अनुसार भारतले भूकम्पपछि सम्पदा पुनर्निर्माणको शीर्षकका लागि ५० मिलियन अमेरिकी डलर अनुदानको घोषणा गरेको थियो । सोही अनुदानअन्तर्गत उक्त गुम्बा निर्माणका लागि रकम उपलब्ध गराइएको हो । शिलान्यासमा दूतावासका द्वितीय सचिव सोनाले भारत र नेपालको कतिपय धार्मिक र सांस्कृतिक समानता रहेको भन्दै सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले भारतले नेपाल सरकारको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सहयोग गर्दै आएको बताए ।

भूकम्पमा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा धनजनको क्षति भएको थियो । जिल्लाको भोटेकोसी, हेलम्बु, पाँचपोखरी थाङपाल, इन्द्रावती लिसंखुपाखर गाउँपालिकामा सयौं गुम्बा रहेका छन् ।

आयोजना कार्यान्वयन इकाइका निर्देशक अधिकारीले सिन्धुपाल्चोकमा मात्र ७ वटा गुम्बा निर्माणको योजना रहेको बताए । एउटाको भने निर्माण सकिएको छ । उनका अनुसार मुलुकभर २८ वटा गुम्बा निर्माणको चरणमा छ ।

पाँचपोखरी गाउँपालिकाका अध्यक्ष टासी लामाले आफ्नो पालिकामा मात्र ३९ गुम्बा रहेको र ती सबै भत्केको बताए । उनका अनुसार उक्त पालिकामा एक सय वर्ष नाघेका १७ वटा गुम्बा छन् । भत्केकामध्ये ५ वटा मात्र निर्माण भएको छ । जिल्लाका अधिकांश गुम्बा बजेटको अभावमा निर्माण हुन सकेको छैन । स्थानीय अगुवा छिरिङ लामाका अनुसार गुम्बै गुम्बाको सहरको रुपमा परिचित हेलम्बुमा ५२ वटा गुम्बामध्ये भूकम्पमा ४३ वटा भत्किएकोमा अधिकांश पुनर्निर्माण हुन सकेको छैन । इन्द्रावतीमा एक वटा पुनर्निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय