
माघ ११



बुद्ध जन्मस्थल लुम्बिनीको प्रबद्र्धन, विकास र प्रचारप्रसारका लागि विभिन्न धार्मिक तथा आध्यमिक गतिविधि हुँदै आएका छन् । पछिल्लोपटक लुम्बिनीमा मोन्लम अर्थात् विश्व शान्ति पुजा सुरु भएको छ । लुम्बिनीबाट विश्व शान्तिको कामना गर्ने र सन्देश दिने उद्देश्यसहित महायानी परम्परा अनुसार मोन्लम पुजा सुरु गरिएको हो । यसले लुम्बिनीको धार्मिक, आध्यत्मिक तथा पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।
विश्व शान्तिको कामनासहित लुम्बिनीमा धार्मिक तथा आध्यत्मिकता बढाउने उद्देश्यसहित महागुरु वल्र्डपिसको समन्वयमा ५ दिनसम्मका लागि मोल्नम पुजा आयोजना गरिएको हो । मोल्नम पुजामा चिनियाँ चर्चित चलचित्रकर्मी एवं हलिउड स्टार जेट्ली समेत सहभागी छन् । उनी मोल्नम पुजा अवधिभर सहभागी हुनेछन् ।
भगवान् बुद्धको धर्म थेरवादी र महायानी गरी दुई मुख्य परम्परामा विकसित हुँदै आएको छ । महायानीमा हिमाली बौद्ध र नेवारी बौद्ध परम्परा चलेका छन् । हिमाली बौद्ध परम्पराअन्तर्गत सयौं पर्व, संस्कृति र रीतिथिति विकसित भएका छन् । ती सबैले बुद्धले दिएका शिक्षालाई प्रतीकात्मक रुपमा बुझ्न र दैनिक जीवनमा अभ्यास गर्न सुझाउँछन् । मोन्लम अर्थात् विश्व शान्ति पूजा हिमाली भूभागमा प्रचलित परम्परा हो । लुम्बिनीलाई बुद्ध जन्मभूमिको रुपमा महत्व दिएर मोन्लमको परम्परा आरम्भ गर्ने श्रेय भने नेपालको हिमाली भूभाग र तिब्बतमा स्थापित शाक्य सम्प्रदायलाई जान्छ ।
बिहीबारदेखि लुम्बिनीमा सुरु मोन्लम पुजा महायानी परम्पारमा सुरु भएको हो । मोन्लममा पाँच सय बढी रिम्पोछे, लामा, आनीहरु एकै ठाउँमा भेला भई मन्त्रोच्चारण र पाठ गर्दा समस्त लुम्बिनी गुञ्जायमान भएको छ । मायादेवी मन्दिर परिसरमा आयोजित पुजाले लुम्बिनीको वातावरणमा एक प्रकारको आध्यात्मिक तरंग ल्याएको छ । संसारभर बुद्ध नेपालमा जन्मिएको सन्देश दिन यो कोशेढुंगा हुने लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले बताए । ‘यसका साथै विश्व शान्तिका लागि मोल्नम पूजाले सकारात्मक सन्देशसमेत दिने छ’, उनले भने ।
उनले भगवान बुद्धका उपदेशहरु पाठ गर्दै बोद्धिसत्व र विश्व शान्तिको कामना गरी गरिएको पुजाको महायानी परम्परामा निकै ठूलो महत्व रहेको जनाए । ‘लुम्बिनी विकास कोषले मोन्लम जस्ता पुजाहरुलाई नीतिगत रुपमा प्रोत्साहन गर्दै आएको छ । यो वर्ष हामीले अझै धेरै पुजा गर्दैछौं’, उपाध्यक्ष लामाले भने ।



