पुस २९
चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को युन्नान प्रान्तीय कमिटी, प्रचार विभागका उपमहानिर्देशक फङ बिनले आस्था प्रकाशन प्रालिको भ्रमण गर्नुभएको छ ।
६ सदस्यीय टोलीको नेतृत्व गर्दै हिजो काठमाडौँ आइपुग्नुभएका उहाँले आज बिहान ललितपुरको झम्सिखेलस्थित जनआस्था कार्यालयको अवलोकन गर्नुभएको हो । त्यसक्रममा आस्था प्रकाशन प्रालिका अध्यक्ष किशोर श्रेष्ठ र चिनियाँ टोलीबीच सञ्चार सहकार्यका विविध विषयमा कुराकानीसमेत भएको छ ।



उपमहानिर्देशक विनले दुईपक्षीय हित र चासोका विषयमा दुवै देशका पत्रकार र सञ्चार माध्यमले मिलेर काम गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि नेपाल–चाइना मिडिया फोरम र जनआस्थाले खेलेको भूमिकाको प्रशँशा गर्नुभयो । उहाँले पत्रकारहरुको तालिमलगायतका मिडिया क्षेत्रको विकासमा सहयोग गर्दै जाने प्रतिवद्धतासमेत जनाउनुभएको छ ।
सो क्रममा विन नेतृत्वको चिनियाँ टोलीले जनआस्थाको अनलाइन समाचार कक्ष,मुद्रण विभाग र स्टुडियोको अवलोकन गरेको थियो । नेपाल–चाइना मिडिया फोरमको समेत अध्यक्ष रहनुभएका आस्था प्रकाशन प्रालिका अध्यक्ष किशोर श्रेष्ठले पाहुना टोलीलाई कार्यालयमा स्वागत गर्नुभएको थियो ।
अध्यक्ष श्रेष्ठले हावापानी, कला, संस्कृतिमा धेरै समानता रहेकाले नेपाल र युन्नानबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन सञ्चार सहकार्यले मद्धत पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
चिनियाँ नयाँ वर्षको अवसरमा यहाँस्थित नेपाली दूतावासको निमन्त्रणामा काठमाडौँ आइपुगेको चिनियाँ टोलीले सरकारी सञ्चार माध्यमहरुको पनि अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । टोली आज साँझ दूतावासले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुनेछ ।



