पुस २१
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको युनान प्रान्तको पार्टी स्थायी कमिटीका उपसचिव महामहिम सी युगाङ नेतृत्वको टोलीले शिष्टाचार भेट गरेको छ । नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले शनिबार हरितगृह लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेको हो ।
उपराष्ट्रपतिसँगको भेटमा चिनियाँ टोलीसँग दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, भ्रमण, सहयोग, व्यापार तथा पर्यटन लगायतका विविध आयामका विषयमा संवाद भएको थियो । उपराष्ट्रपति यादवको सचिवालयका अनुसार उपराष्ट्रपति यादवले नेपाल र चीनबीच सदियौंदेखि रही आएको सौहार्दपूर्ण एवं अति घनिष्ठ सम्बन्ध हालैका वर्षहरूमा बहुआयामिक क्षेत्रमा अझ व्यापक, थप घनिष्ठ र अरु उच्च बनेकोमा खुसी व्यक्त गरेका थिए । ‘दुई मुलुकहरूले हाम्रो लामो इतिहास बोकेको मित्रवत सम्बन्ध, सहयोग र सहकार्यलाई ठूलो महत्त्व दिएका छन्,’ उपराष्ट्रपतिले भनेका थिए ।



छलफलका क्रममा उपराष्ट्रपति यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको गत वर्षको सेप्टेम्बरमा सम्पन्न चीन भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याएको र सहकार्यका क्षेत्र बिस्तार हुनेमा आफू विश्वस्त रहेको बताएका थिए । उपराष्ट्रपति यादवले द्विपक्षीय व्यापारलाई दिगो र व्यापक बनाउन चिनियाँ पक्षबाट नेपाललाई तुलनात्मक लाभका विभिन्न उत्पादनहरूमा उत्पादक क्षमता बढाउनुका साथै तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी जस्ता उत्पादनहरूको सहयोगका लागि चिनियाँ पक्षलाई अनुरोध गरेका थिए । पोखरा र चीनका विभिन्न सहरबीच ‘कमर्सियल फ्लाइट’ सुरु हुने विश्वास पनि उपराष्ट्रपति यादवको थियो ।
भेटघाटमा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख सी युगाङले सन् २०२४ मा चिनियाँ उच्च प्रतिनिधिमण्डलले नेपालबाटै आफ्नो भ्रमण सुरु गरेको जनाउँदै नेपाललाई विशेष महत्त्व दिएरै यो सम्भव भएको बताएका थिए । ‘नेपाल र चीनबीच प्राचिनकालदेखि कायम रहेको सांस्कृतिक सम्बन्धलाई भगवान गौतम बुद्धको सिद्धान्तले थप प्रगाढ बनाएको छ’ उनले भनेका थिए, ’नेपाल र चीनबीच धेरै समानता छ । यो समानताकै कारण दुई मुलुकबीच उच्चस्तरीय र जनस्तरीय भ्रमणहरु बढी हुने गरेको छ ।’
उनले चीनको सबैभन्दा नजिकको छिमेकी मित्र राष्ट्र नेपाल भएको जनाउँदै छिमेकीसँगको सम्बन्ध राम्रो हुनुपर्नेमा जोड दिएका थिए । ‘आफू मात्रै खुसी भएर हुँदैन, छिमेकी पनि खुसी हुनुपर्दछ । छिमेकीसँग जीवनमरणको सम्बन्ध हुनुपर्दछ, यसले सम्बन्धलाई थप प्रगाढ, बलियो र सुदृद्ध बनाउँदछ,’ युगाङले भनेका थिए, ‘हामी मान्छे–मान्छेसँगको सम्बन्धलाई प्राथमिकतामा राखेका छौँ । अगामी दिनहरूमा हाम्रो सम्बन्ध थप मजबुत हुँदै जाने विश्वास व्यक्त गर्दछु ।’
यसै गरी नेपाल भ्रमणमा रहेको चिनियाँ टोली भक्तपुर पुगेको छ । भक्तपुर दरबार क्षेत्रको अवलोकन भ्रमणको निम्ति चिनियाँहरु भर्खर त्यहाँ पुगेका हुन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको युन्नान प्रान्तीय कमिटी स्थायी समितिका उपसचिव शि युगाङको नेतृत्वमा आएको चाङ शिजिन, वाङ वेइ, डुआन् शाओरेन, चेन सुयुन र लि सिहाई रहेको पाँच सदस्यीय टोली भक्तपुर गएको हो ।
चिनियाँ उच्चस्तरीय टोलीले यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग भेट गरेको थियो । पर्यटनमन्त्री सुदन किराँतीसँग भेटवार्ताको लागि चिनियाँ पाहुना टोली बिहान साढे १० बजे सिंहदरबारस्थित पर्यटन मन्त्रालय पुगेको हो ।



