पुस १६
सन् २०२३ नेपाल–चीनबिच सम्बन्ध सुधारका लागि राजनीतिक नेतृत्वमा सौहार्दपूर्ण भ्रमण आदानप्रदान वर्षका रूपमा रह्यो ।
कोभिड महामारीका कारण तीन वर्ष रोकिएको यात्रा सन् २०२३ को अप्रिल महिनादेखि सामान्य लयमा फर्किएसँगै नेपाल र चीन दुवै देशबाट उच्च तहका राजनीतिक नेताको भ्रमण तीव्र भयो ।
सन् २०२३ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दुई पूर्व प्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपालले चीन भ्रमण गरे ।प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको भ्रमण हुनुभन्दा पहिले उपराष्ट्रपति रामसहाय प्रसाद यादवले एक साता लामो चीन भ्रमण गरेका थिए । यादवले युनान प्रान्तको राजधानी खुमनिङ्गमा आयोजित दक्षिण एसियाली व्यापार भेलाको प्रमुख अतिथि भएर अगस्ट १४ देखि २१ सम्म चीन यात्रा गरेका थिए ।



नेपालबाट उपराष्ट्रपति सहभागी भएको मेलामा नेपालसहित दक्षिण एसियाली करिब ४५ देशका व्यापारीहरू सहभागी भएका थिए । उपराष्ट्रपतिले चिनियाँ कम्युनिस्ट पार्टीका विदेशमन्त्री वाङ यी, युनान प्रान्तका चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुखलगायत उच्चस्तरका राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए । युनान प्रान्तस्थित युनान विश्वविद्यालयको निरीक्षण भ्रमण गरेका यादव एक साता युनान प्रान्तका विभिन्न सहरको भ्रमण गरी नेपाल फर्किएका थिए ।
दक्षिण र पूर्वी एसियाली देशका भाषा अध्यापन हुने युनान विश्वविद्यालयमा नेपाली भाषामा स्नातकोत्तर तहको पढाइ हुने चीनको एक मात्र विश्वविद्यालय हो । चीनमा अन्य पाँच वटा विश्वविद्यालयमा नेपाली भाषाको स्नातक तहसम्मको अध्ययन अध्यापन हुने गर्दछ ।
उपराष्ट्रपति यादवको भ्रमणपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सेप्टेम्बर महिनाको अन्तिम साता दक्षिण एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन चीन भ्रमणमा गएका थिए ।
प्रचण्डको चीन भ्रमणको पहिलो दिन एसियाली खेलकुद उद्घाटन हुनुभन्दा पहिले हाङ्चौंमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ अधिकारीसँग भेटवार्ता र छलफल भएको थियो । हाङ्चौंको एसियाली खेलकुद उद्घाटन समारोहमा सहभागी भएपछि प्रधानमन्त्री प्रचण्डको टोली राजधानी बेइजिङ पुगेर चिनियाँ प्रधानमन्त्री ली छ्यागसँग भेटवार्ता ग¥यो । यस क्रममा नेपाल–चीनबिच सहकार्यका १२ बुँदे सहमति भएको थियो । तर, चीनको विकास परियोजना बीआरआईको विषयमा भने छलफलमात्र भयो ।
प्रधानमन्त्री प्रचण्डले बेइजिङपछि चीनको अर्को सहर छोङछिङको भ्रमण गरे । छोङछिङका चिनियाँ कम्युनिस्ट पार्टी प्रमुखसँग भेटवार्तापछि नेपालसँग सीमा जोडिएको चीनको स्वासाशित क्षेत्र तिब्बत र सनातनी हिन्दु धर्मावलम्बीको पवित्र धाम मानिने कैलाश मानसरोवर यात्रापछि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली सुछुवान प्रान्तको छङतु हुँदै नेपाल फर्किएको थियो ।
प्रधानमन्त्री प्रचण्डको भ्रमणपछि राजधानी बेइजिङमा आयोजना गरिएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना १० वर्ष पुगेको अवसरमा अक्टोबर १८ देखि सुरु भएको बीआरआई फोरमको सम्मेलनमा सहभागी हुन सत्ता गठबन्धनका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठ गएका थिए । सम्मेलनमा सरकारी पक्षबाट गृहमन्त्री श्रेष्ठले सम्बोधन गरेका थिए ।
पूर्वप्रधानमन्त्री खनालले पनि सम्मेलनको एउटा सत्रमा सम्बोधन गरेका थिए । त्यसअघि गृहमन्त्री श्रेष्ठ सेप्टेम्बर महिनाको तेस्रो साता सिचुवान प्रान्तको छेङतुमा चार दिने भ्रमणका लागि गएका थिए ।
त्यसपछि, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नोभेम्बर महिनाको पहिलो साता चीन भ्रमण गरेका थिए । युनान प्रान्तको राजधानी खुमनिङ्ग गएका नेता नेपालको भ्रमण टोलीमा उनकै दल निकट नेता कार्यकर्ता थिए ।
बीआरआई सम्बन्धी क्षेत्रीय सम्मेलनमा सहभागी हुन गएका पूर्वप्रधानमन्त्री नेपालसँगै कृषिमन्त्री बेदुराम भुसाल पनि भ्रमणमा सामेल थिए । सो टोली चीनको राजधानी बेइजिङ भने गएन ।
त्यसअघि, चिनियाँ राष्ट्रिय जनकंग्रेसको निमन्त्रणामा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले नेतृत्व गरेको विभिन्न राजनीतिक दलको टोलीले जुलाईको दोस्रो साता ११ दिने चीन भ्रमण गरेको थियो ।
तिमिल्सिनाको टोलीले चीन भ्रमणका क्रममा राष्ट्रिय जनकंग्रेसका अध्यक्ष, चिनियाँ राजनीतिक परामर्श दातृ सम्मेलनका अध्यक्षसँग भेट गरी दुई देश बिचको सम्बन्धका विविध पक्षमा छलफल गरेको थियो ।
राजधानी बेइजिङबाट तिब्बत र कैलाश मानसरोवर यात्रा गरेको तिमिल्सिना नेतृत्वको टोली पहिलो पटक जुलाई २१ तारिख सुछवान प्रान्तको छङतुदेखि पोखरासम्मको सिधा उडानबाट नेपाल फर्किएको थियो ।
त्यसअघि, चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले नेतृत्व गरेको २० सदस्सीय टोलीले मे महिनाको १९ देखि १० दिने चीन भ्रमण गरेको थियो । सो टोलीले छेन्तु, तिब्बत, कैलाश मानसरोवर, बेइजिङ, सियान र उहान सहरको भ्रमण गरेको थियो ।
चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख र चिनियाँ राष्ट्रिय जनकंग्रेसका प्रमुखसँग सापकोटाले भेटवार्ता गरेर प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका बारेमा छलफल गरेका थिए । चीनले सापकोटा नेतृत्वको टोलीलाई चीनमा गरिबी निवारणका लागि गरिएका कार्यगत सफलताका बारेमा जानकारी गराएको थियो । त्यसपछि माओवादी केन्द्रका महासचिव देव गुरुङ नेतृत्वको टोलीले पनि चीन भ्रमण गरेको थियो । गुरुङको चीन भ्रमण प्रधानमन्त्री प्रचण्ड भ्रमणको तयारीमा मात्र केन्द्रित थियो ।
त्यसैगरी, चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेतृत्व गरेको २१ सदस्यीय एमाले टोलीले चीन भ्रमण गरेको थियो ।
पोखरेल नेतृत्वको टोलीले बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख एवं सीपीसीका पोलिटव्यूरो प्रमुख लिउ जियनचाओसँग पनि भेटवार्ता गरेको थियो । सो भेटमा पोखरेलले चीनले यस वर्ष जारी गरेको चीनको राजनीतिक नक्साङ्कनमा नेपालको चुच्चे नक्सा समावेश नगरेको विषयमा छलफल गरेका थिए । बेइजिङपछि छिगहाईमा आयोजित समारोहमा सहभागी हुन पुगेका पोखेरल सो सम्मेलनमा सहभागी नभइ नेपाल फर्किएका थिए । पार्टीका नेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको आकस्मिक मृत्यु भएपछि उनी कार्यक्रममा सहभागी नभइ नेपाल फर्किएका थिए ।
डिसेम्बर महिनाको दोस्रो साता एमाले उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र एमाले नेता विष्णु रिजाल चीन भ्रमणमा गएका थिए । सीपीसीको निमन्त्रणमा त्यसअघि अप्रिल महिनाको अन्तिम साता एमाले नेता रिजाल र माओवादी केन्द्रका विदेश विभाग प्रमुख राम कार्कीले चीन भ्रमण गरेका थिए ।
त्यसैगरी, माओवादी केन्द्रका नेता तथा सांसद हितराज पाण्डेको नेतृत्वमा गएको १९ सदस्यीय संसदीय टोली हालै नेपाल फर्किएको छ । सो टोलीमा माओवादी केन्द्र, कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको सहभागिता थियो । उनीहरु राजधानी बेइजिङमा आयोजित सम्मेलनमा सहभागी भएका थिए ।
सन् २०२३ मा नेपाल–चीन बिच राजनीतिक दलका नेताहरूको भ्रमण आदानप्रदान वर्ष मात्र भयो । ‘यो वर्ष नेपालबाट मात्र होइन, चीनका राजनीतिक नेताहरूले पनि नेपाल भ्रमण गरे । दुवै देशका नेताहरूको भ्रमणमा विकास र समृद्धिका कुरा त भए, कुनै काम सुरु भएको देखिएन ।’
यस वर्ष चीनले नेपालका साथै चीनले आफ्ना छिमेकी १४ वटा देशका राजनीतिक दल र अध्येताहरूलाई चीन भ्रमणको अभियान नै चलाएको छ ।



