पुस ८
काठमाडौं–केरुङ रेलमार्गअन्तर्गत नुवाकोट, रसुवा र काठमाडौं खण्डमा प्रारिम्भक सर्भे अन्तिम चरणमा पुगेको छ । यसै साताभित्र फिल्ड र ड्रोन सर्भेको काम सकिनेछ । त्यसपछि दोस्रो चरणका रूपमा भौगर्भिक अध्ययन सुरु हुने रेल विभागका महानिर्देशक रोहित बिसुरालले बताए ।
तेस्रो चरणमा अध्ययनको रिपोर्ट कम्पाइल तयार पारिनेछ । चिनियाँ टोलीले वातावरणीय प्रभाव मूल्यांकनको काम पनि सँगै गर्न भनेकाले यसबारे छलफल भइरहेको बिसुरालले बताए । ‘छिट्टै के गर्ने भन्नेबारे निर्णयमा पुग्नेछौं,’ उनले भने । रेलमार्गको सम्भाव्यता अध्ययनका लागि ०७९ पुस तेस्रो साता नेपाल आएको चिनियाँ टोलीले एक वर्ष लगाएर तीन वटै जिल्लामा प्रारम्भिक चरणको अध्ययन गरेको हो । ‘अहिले काठमाडौंतर्फको टोखातिर अध्ययन भइरहेको छ, जहाँ रेलमार्गको अन्तिम बिन्दु काभ्रेस्थली हुनेछ,’ बिसुरालले भने, ‘नुवाकोटमा फिल्ड सर्भे सकिए पनि ड्रोनबाट अध्ययन गर्न छुटेकाले तीन दिनभित्र सक्ने गरी काम हुँदै छ ।’



भौगर्भिक रूपमा रेलमार्गमा पर्ने जमिनमुनिको माटोको समेत अध्ययन गरिने उनको भनाइ छ । सबै जिल्लामा यसरी अध्ययन हुनेछ । अहिले तीन जना चिनियाँ प्राविधिक टोलीले ड्रोन सर्भे गरिरहेका छन । ‘पहिला–पहिला एरियल सर्भे हवाईजहाज र हेलिकोप्टरबाट हुन्थ्यो,’ उनले भने, ‘अहिले ड्रोनबाट गर्ने गरिएको छ ।’ त्यो बेला उदयपुरको गाईघाट–दिक्तेल जोड्ने सगरमाथा राजमार्गको एरियल सर्भे हवाई जहाज र हेलिकोप्टरबाट गरिएको थियो । ‘अहिले काठमाडौं–केरुङ रेलमार्गमा एरियल सर्भेका रूपमा ड्रोनबाट अध्ययन गरिएको हो,’ उनले भने, ‘जसले गर्दा छिट्टै काम सकियो ।’
ड्रोनमार्फत फोटो र भिडियो लिएर सर्भे गरिएको हो । काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमाथि हवाई रुट पर्ने भएकाले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरेर ड्रोनमार्फत अध्ययन गर्न केही ढिलाइ भएको महानिर्देशक बिसुरालले बताए । यसको अध्ययन ४२ महिनाभित्र सकिसक्नुपर्नेछ । अब अध्ययनको काम सक्न ३० महिना बाँकी छ । उक्त समयभित्र सम्भाव्यता अध्ययनको काम सकिसक्नुपर्नेछ । सुरुमा चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट गुु्रपका ६ जना प्राविधिक टोली सर्भेका लागि आएका थिए ।
अहिले फिल्डमा त्यही कम्पनीका प्राविधिकले काम गरिरहेका छन । त्यसका लागि रेल विभागका प्राविधिक, कर्मचारी र स्थानीय जनप्रतिनिधिले सहयोग गरेका छन । ‘बर्खाअघि ४३ जना प्राविधिक टोलीले सर्भे गरेका थिए,’ उनले भने, ‘अहिले ३ जना मात्र छन्, अध्ययनको प्रकृतिअनुसार प्राविधिकको संख्या हेरफेर भइरहन्छ ।’ यो सम्भाव्यता अध्ययन भएकाले यसबाट निर्माणमा लाग्ने लागत, समय र रेलमार्गको कुल दूरी थाहा हुनेछ ।
सम्भाव्यता अध्ययनबाट रेलमार्गमा कति वटा सुरुङ, पुल र स्टेसन आवश्यक पर्ने हो, त्यो पनि थाहा हुनेछ । यसमा छुट्टै विस्तृत सर्भे नगरिने र निर्माणका क्रममा विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार पारेर काम अघि बढाइने उनको भनाइ छ । जुन बेला निर्माणको काम थालिन्छ, त्यही बेला यसको डीपीआर हुनेछ । यसको अध्ययन चीनले आफ्नै खर्चमा गरिरहेको छ । उक्त रेलमार्ग निर्माण गर्न २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।
एक वर्षअघि सर्भे गर्न आएको टोलीले कसरी अध्ययन गरेको छ र के–कति अध्ययन भयो भनेर अनुगमन गर्न गत कात्तिक २३ मा चीनबाट ३ जनाको प्राविधिक टोली आएको थियो । चीन सरकारले पठाएको उक्त टोलीले फिल्डमै पुगेर दुई साता लगाई अनुगमन गरेर फर्किएको थियो । प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौंसम्म ७२ किमि दूरी रहने रेलमार्गमा ९८ प्रतिशत पहाड पर्नेछ, जसलाई छेडेर रेलमार्ग बनाइनेछ ।



