क्वारेन्टाइन समस्या हल गरिदिन चीनसँग नेपालको आग्रह

२०८० मंसिर १३, बुधबार
पढ्ने समय : 2 मिनेट

मंसिर १३

चीनको भ्रमणमा रहेको नेपाल चेम्बर अफ कमर्स गोरखाको डेलिगेसनले चच्याङ प्रान्तीय यिवु सहरको भ्रमण गरी नेपाल–चीन क्वारेन्टाइन समस्या समाधान गरिदिन आग्रह गरेको छ।

यिवुमा चिनियाँ अधिकारीहरूसँगको बैठकमा नेपाली पक्षले नेपाली उत्पादनहरू चीनमा भित्र्याउने क्रममा क्वारेन्टाइन मापदण्ड बाधक हुने गरेकाले भविष्यमा तातोपानी वा केरूङ व्यापारिक नाकामा क्वारेन्टाइनको व्यवस्थापन गरिदिन माग गरेको हो।

नेपाली उत्पादन चीन निर्यात गर्दा जहिल्यै क्वारेन्टाइन सिस्टमबारे पर्याप्त जानकारीको अभाव हुने गरेको पाइयो। यिवु–नेपाल चेम्बरअफ कमर्सका अध्यक्ष विष्णुप्रसाद दुमरूले नेपाली पक्षको ध्यानाकर्षणबारे भने, ‘चीनलाई कुन तरीकाको क्वारेन्टाइन चाहिने हो। नेपाल–चीन व्यापारिक नाकामा त्यस्तो प्रणाली स्थापना गर्नेतर्फ ध्यान दिन आग्रह गरेको छ।’

क्वारेन्टाइन प्रणाली राख्नेबारे चिनियाँ पक्षले सकारात्मक जनाउ दिएको छ। तर सरकारी तवरबाट सरसल्लाह गरेर गर्नसकिने कुराहरू गर्दै जाने मौखिक प्रतिवद्धता मात्रै जनाएको भ्रमणमा सहभागी नेपाली टोलीले जानकारी दिएको छ।

चीनको ११ दिने भ्रमणमा रहेको चेम्बरको टोलीले ४ दिनसम्म यिवुमा रहेर नेपाल–चीन व्यापारिक सम्भाव्यताबारे अध्ययन गरेको हो। गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठले चिनियाँ पक्षसँग संयुक्त रुपमा व्यापारिक जगमा काम गर्न इच्छुक रहेको जानकारी दिए।

नेपालको उत्पादन आयात गर्न चीन तत्पर रहेको भन्दै चिनियाँ अधिकारीहरुले आगामी मध्य डिसेम्बरमा नेपालको पर्यटन, होटल, कृषिलगायत क्षेत्रमा लगानी वा उत्पादन आयातका लागि टोली खटाउने आश्वासन दिएको छ। सन् २०२० मा नेपालले पर्यटन प्रवर्द्धनको तयारी गरेको थियो तर कोभिड – १९ महामारीका कारण स्थगित भएको थियो। यो टुर टोली नेपाल गएपछि महामारीपछिको पहिलो यिवु टोली हुने दुमरूको दाबी छ।

डिसेम्बर १ तारिख हाङ्चौमा हुने पाँचौ ट्रान्सपोर्टेसन एक्स्पोमा सहभागी भएपछि डेलिगेसन नेपाल फर्किने कार्यक्रम छ। यसअघि नोभेम्बर तेश्रो साता हाङ्चौ अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजित दोश्रो ग्लोबल डिजिटल ट्रेड एक्स्पोमा यो चेम्बर टोली सहभागी भएको थियो।

यिवु अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष एमीका अनुसार बर्सेनि साढे ५ लाखभन्दा बढी व्यापारी र पर्यटकले भ्रमण गर्ने यिवुले व्यापारिक क्षेत्र तथा विदेशी नागरिकलाई परेका समस्या समाधान गर्न सहयोग गर्ने आश्वासन दिए।

नेपाल महिला चेम्बर अफ कमर्स गोरखाकी अध्यक्ष ज्ञानु अधिकारी अर्यालले नेपालको महिला व्यापारिक क्षेत्रले सिकाइ तथा प्रशिक्षणको अपेक्षा गरेको बताइन्। यिवु ब्युरो अफ कमर्सका प्रतिनिधिहरू, बीआरआईसँग सम्बन्धित अधिकारीहरूलगायतले नेपाली प्रतिनिधिहरूसँग छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय