मंसिर १०
चिनियाँलाई पछि पार्दै नेपाली टिमले वार हर्स नेपाल–पोखरा अन्तर्राष्ट्रिय माउन्टेन क्रसकन्ट्री प्रतियोगिताको उपाधि जितेको छ । पोखरामा शनिबार प्रतियोगितामा सुमन कुलुङ, रमेश लिम्बू र इन्द्रकला नेम्बाङको टिम पोखरा ‘ए’ ले उपाधि जितेको हो ।
नेपाली टिमले २२ किमि दौड, १७ किमि साइक्लिङ र १ किमि रोइङ ३ घण्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा ग¥यो । नेपाल ट्रायथलन संघको टिम दोस्रो भयो । वसन्त थारु, मुकेश थारु र श्रेबी महर्जनले ३ घण्टा ५२ मिनेट ४६ सेकेन्डमा दुरी पूरा गरे । त्रिभुवन आर्मीका श्रीकास राई, तिलक सुनुवार र केशरी थापा मगरको टिमले उक्त दूरी ३ घण्टा ५७ मिनेट ३५ सेकेन्डमा पूरा गरेर तेस्रो स्थान हात पा¥यो ।
चिनियाँ खेलाडी लिन साइछी, याङ छुनझेङ र झाउ किङको टोलीले चौथो स्थान भेट्टायो । टोलीले ४ घण्टा २५ सेकेन्डमा दूरी पार ग¥यो । आर्मीकै अर्को टिम (गजेन्द्र राई, ज्ञानु चौधरी र गोपाल तामाङ) ४ घण्टा ९ मिनेट ३१ सेकेन्डबाट चौथो भयो । टिम इभेन्टतर्फ नेपालको ११ र चीनको ३ टोली सहभागी थिए ।



फेवाताल किनारको बाराहीघाटबाट २ पुरुष र एक महिला गरी ३–३ जनाको टिम दौडिएर बिरौटा, छोरेपाटन हुँदै फुस्रेखोला पुगे । फुस्रेखेलाबाट टिमको एकजनाले साइक्लिङ गरे भने दुई जना दौडिएर मट्टिखान, भकुण्डे, उल्लेरी, भुम्दी हुँदै विश्व शान्ति स्तुपा आए । शान्ति स्तुपाबाट पुनः दौडिएर फेवाताल किनारमा झरे । तालपारिबाट हरेक टिमले एक–एक वटा डुंगा खियाएर पुनः बाराहीघाट फर्किएका हुन् । टिम इभेन्टमा पहिलो हुनेले ३ लाख ६० हजार, दोस्रोले २ लाख ८८ हजार, तेस्रोले २ लाख १६ हजार, चौथोले १ लाख ४४ हजार र पाँचौंले ९० हजार प्राप्त गरे ।
एकलतर्फ ३८ किमि पुरुष दौडमा आर्मीका धावकले वर्चस्व कायम गरे । आर्मीका होमलाल श्रेष्ठ २ घण्टा ३३ मिनेट ४२ सेकेन्डमा पार गरेर पहिलो भए । बेदबहादुर सुनुवार दोस्रो, तीर्थ तामाङ तेस्रो र करन रावल चौथो भए । उनीहरूले दुरी क्रमशः २ घण्टा ४० मिनेट ३ सेकेन्ड, २ घण्टा ४३ मिनेट ३ सेकेन्ड र २ घण्टा ५१ मिनेट ३२ सेकेन्डमा पार गरे । चिनियाँ धावक मा झावजियानले २ घण्टा ५६ मिनेट ३३ सेकेन्डमा दूरी पार गर्दै पाँचौं भए । दौडमा जुम्लाका शेरबहादुर बुढा छैटौं, आर्मीका मनबहादुर थापा मगर सातौं, हिमाल टमाटा आठौं, प्रवीण थारु नवौं र नुवाकोटका जीवन लामा दसौं स्थानमा आए ।
३८ किमि महिला दौडमा जुम्लाकी मञ्जु रावतले उपाधि हात पारिन् । उनले ३ घण्टा ३४ मिनेट २० सेकेन्डमा दुरी पूरा गरिन् । ओखलढुंगाकी पदमकुमारी सुनुवारले ३ घण्टा ५२ मिनेट ४३ सेकेन्डबाट दोस्रो र चिनियाँ धाविका झेङ जुनयुले ४ घण्टा ३ मिनेट ४४ सेकेन्डबाट तेस्रो स्थान हात पारे । सोलुखुम्बुकी सिर्जना कुलुङ ४ घण्टा १५ मिनेट ५ सेकेन्डबाट चौथो र चीनकी जोङ सुझी ४ घण्टा २३ मिनेट ३८ सेकेन्डबाट पाँचौं भए । नेपालकी प्रेमा परियार छैटौं, चीनकी ली छेनछेन सातौं, झाव सुआङ आठौं, योङ किन नवौं र लिउ हाइयान दसौं भए । एकल विधामा पुरुष र महिलातर्फ पहिलोले १ लाख ४४ हजार, दोस्रोले १ लाख ८ हजार, तेस्रोले ५४ हजार, चौथोदेखि सातौंसम्मले जनही १८ हजार र आठौंदेखि दसौंसम्मले जनही ९ हजार रुपैयाँ प्राप्त गरेका छन् । पुरुष र महिला एकलमा ४० नेपाली र ३६ चिनियाँ धावकले प्रतिस्पर्धा गरे ।
५ किमि विद्यार्थी दौडमा छात्रतर्फ कुमुदिनी होम्सका कृष्ण परियार पहिलो, छोरेपाटन माविका टेन्जन मगर दोस्रो, कास्की मोर्डनाइज्डका बादल कार्की तेस्रो, विन्ध्यावासिनी माविका कृष्ण घर्ती चौथो र पार्दी माविका भगतसिंह गुरुङ पाँचौं भए । छात्रातर्फ छोरेपाटनकी नारायणी भण्डारी पहिलो, मेघराज आधारभूतकी एन्जिला जिटी दोस्रो, तालबाराहीकी गीता श्रेष्ठ तेस्रो, छोरेपाटनकी कञ्चन लिम्बु चौथो र गौरीशंकरकी कविता मगर पाँचौं भए । पहिलोले २५ हजार, दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले ५ हजार रुपैयाँ प्राप्त गरे ।
विजेता टिम र खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र चिनियाँ राजदूत छन् सोङले पुरस्कार वितरण गरे । चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगिताको स्थानीय आयोजक होटल संघ पोखरा रहेको थियो । चीनको युनान माउन्टेनियरिङ एन्ड आउटडोर स्पोर्ट्स एसोसिएसनले प्रतियोगितालाई सघाएको थियो ।
प्रतियोगितामा सहभागी हुन चीनको कुनमिङबाट ९४ जनाको चिनियाँ टोली मंसिर ७ मा हिमालय एयरलाइन्सको जहाज चार्टर गरी पोखरा विमानस्थल ओर्लिएको थियो । कार्यक्रम संयोजक विश्वशंकर पालिखेले पोखराको पर्यटन प्रवर्द्धनमा प्रतियोगिताले उल्लेखनीय भूमिका खेलेको बताए।



