मंसिर ८
आर्थिक वर्षको चार महिनामा नै १ अर्ब १३ करोड बराबरको ८ लाख टन सिमेन्ट र क्लिंकर भारत निर्यात भएको छ। भन्सार विभागले बिहीबार प्रकाशन गरेको तथ्यांक अनुसार नेपालबाट ८ लाख टन सिमेन्ट र क्लिंकर भारत निर्यात भएका छन्।



नेपालले २०७९ साउनदेखि सिमेन्ट निर्यात थालेको थियो। गत आर्थिक वर्षमा ७७ करोड ९३ लाखको भारत पठाएकोमा चालु वर्षको चार महिनामै एक अर्ब १३ करोडको निर्यात गरेको छ। केही वर्षअघिसम्म अघिसम्म सिमेन्ट र क्लिंकरमा परनिर्भर थियो।
विभागका अनुसार चार महिनामा ५८ करोड ५७ लाख बराबरको १ लाख ७४ हजार टन क्लिंकर र ५४ करोड ४९ लाख बराबरको ६ लाख ३१ हजार टन तयारी सिमेन्ट भारत निर्यात भएका हुन्।
गत आर्थिक वर्षको बजेटमा तात्कालिन अर्थमन्त्री जनार्दन शर्माले सिमेन्टमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेपछि निकासी सुरु भएको हो।
कात्तिकमा मात्रै २७ करोड ७७ लाखको सिमेन्ट तथा क्लिंकर निर्यात भएको भन्सार विभागले जनाएको छ। विभागका अनुसार असोजमा साढे ४३ करोडको सिमेन्ट निर्यात भएको थियो।



