मंसिर ४



नेपाल भ्रमणमा रहेको चीनको चिङ्काङ्शान नगर उपप्रमुख नेतृत्वको टोली भक्तपुर पुगेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख वाङ ह्वामिङबीच भेटवार्ता भएको छ ।
नगर प्रमुख प्रजापतिले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्ध वर्तमानमा विभिन्न आयामसहित घनिष्ठ हुँदै गएको बताउँदै उच्च तहका चिनियाँ प्रतिनिधिमण्डलहरुको नेपाल भ्रमण अत्यन्त स्वागतयोग्य भएको जानकारी दिनुभएको छ ।
चिङ्काङ्शान नगरपालिकाका उपप्रमुख ह्वामिङले भक्तपुर नगरपालिकाको न्यानो स्वागत र आतिथ्यको निम्ति धन्यवाद ज्ञापन गर्दै दुई नगरबीच मैत्रीपूर्ण सहरको सम्बन्ध स्थापित गरेर विभिन्न विषयमा सहकार्य गर्न सकिने धारणा राख्नुभएको बताइन्छ ।
चिङ्काङ्शान नगर चीनको च्याङ्सी प्रान्तको दक्षिण पश्चिम क्षेत्रमा रहेको छ । पर्यटन र संस्कृतिमा दुई नगरबीच समानता देखिन्छ । चिङ्काङ्शान चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनादेखि चीनमा जनगणतन्त्रको थालनीसम्मको निम्ति महत्वपूर्ण स्थानको रुपमा परिचित छ ।
चिनियाँ टोलीमा चिङ्काङ्शान नगरपालिकाका मुख्य प्रशासक लोङ ल्यानह्वाउ, माओपिङ नगर समितिका पार्टी सचिव लि स्याओफेङ, चिङ्काङ्शान नगर स्वास्थ्य कमिसनका निर्देशक, उपनिर्देशक छन् ।



