मंसिर ३
खेलकुदमार्फत पोखरालाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न ‘पोखरा इन्टरनेशनल माउन्टेन क्रस कन्ट्री कम्पिटिसन’ हुने भएको छ।
नेपालस्थित चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिता मंसिर ९ गते हुनेछ।



चीन र नेपालबीच खेल र पर्यटन प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। मंसिर ९ गते बाराहीघाटबाट बिहान ८ बजे सुरु हुने प्रतियोगिता चार भागमा बाँडिएको छ। समूह, व्यक्तिगत, विद्यार्थी र ह्यापी रन भनी चार भागमा प्रतियोगिता गराइँदैछ। जसको पुरस्कार रकम पनि फरक फरक छ।
समूहतर्फ पहिलो हुने टिमले ३ लाख ६० हजार, दोस्रो हुनेले २ लाख ८८ हजार, तेस्रो हुनेले २ लाख १६ हजार, चौथौ हुनेले १ लाख ४४ हजार र पाँचौ स्थानमा आउनेले ९ हजार रुपैँया पाउनेछन्। व्यक्तिगततर्फ बिजेताले १ लाख ४४ हजार, दोस्रोले १ लाख ८८ हजार, तेस्रोले ५४ हजार प्राप्त गर्नेछन्। विद्यार्थीका प्रतियोगितामा प्रथमले २५ हजार, दोस्रोले २० हजार, तेस्रोले १५ हजार पाउनेछन्।
प्रतियोगिता संयोजक विश्वशंखर पालिखेका अनुसार पुरस्कार रकममा अनुमानित १८ लाख ३३ हजार रुपैयाँ खर्च हुने छ।
प्रतियोगिताका लागि चीनको यूनान प्रान्तबाट खेलाडी र अफिसियल ७ गते चार्टर विमानमार्फत पोखरा विमानस्थलमा अवतरण गर्दैछन्। १९ मेडिकल प्राविधिकसहित प्रतियोगिताका लागि ११४ जना पोखरा आउँदैछन्।



