आपतकालीन सहयोगमा छिमेकी सेनाका जहाज ः भारतले नेपालगञ्ज रोज्यो, चीनले पोखरा

२०८० कार्तिक २२, बुधबार
पढ्ने समय : 2 मिनेट

कार्तिक २२

जाजरकोट भूकम्पलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउना साथ कात्तिक २० गते भारतीय सेनाको विशेष विमान ’सी–१२०’ भूकम्प प्रभावित क्षेत्रनजिकै पर्ने नेपालगन्जमा अवतरण भयो।
गत शुक्रबार रातिको भूकम्पबाट प्रभावितका लागि आएको राहत बुझ्न उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का विमानस्थल पुगे।

उपप्रधानमन्त्री खड्कालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विमानस्थलमै ती सामाग्री हस्तान्तरण गरे।

केरुङ–रसुवागढी नाका हुँदै एक खेप राहत सामाग्री नेपाल पठाइसकेको अर्को छिमेकीराष्ट्र चीनले पनि त्यसको २ दिन नबित्दै भारतीय शैलीमै सहयोगको अर्को प्याकेज पठायो।

कात्तिक २२ गते बुधबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ सेनाका दुईवटा कार्गो विमान अवतरण भए।

सिचुवान प्रान्तको राजधानी छेन्दुबाट उडेका ती विमानहरू झण्डै १९ सय ९८ किलोमिटर पार गर्दै नेपाल आइपुगेका हुन्। ती चिनियाँ विमानहरूले अवतरणका लागि उसकै सहयोगमा निर्मित पोखरा विमानस्थल नै रोजे।

पोखरामा विमान ओर्लिँदा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वयम् उपस्थित मात्रै भएनन्, नेपालका लागि चिनियाँ राजदूत छन सोङबाट राहात सामाग्री पनि बुझे।

पोखरा विमानस्थल मित्रराष्ट्र चीनको ऋण सहयोगमा निर्मित परियोजना हो। चालु अंग्रेजी वर्षको सुरुमै उद्घाटन भएको विमानस्थलबाट हालसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।

यसअघि चीनकै छेन्दु र भुटानको थिम्पुबाट चार्टर्ड उडान भइसकेकाले यहाँ ठूला विमान उड्न र ओर्लन सक्ने प्रमाणित भएको छ।

स्पष्ट छ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा चिनियाँ चासो बढी छ। प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा असोज ९ गते जारी संयुक्त वक्तव्यको बुँदा नम्बर ७ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेकामा खुसी व्यक्त गर्दै दुवै पक्षबाट पोखरा एयरपोर्टसहितबाट नेपालमा उडान र थप हवाई रुट विस्तारमा सहमति जनाइएको थियो।

‘दुवै देशले आफ्ना एयरलाइन्स कम्पनीलाई उडान सुरु र थप उडानका लागि सहयोगसँगै सहजीकरण गर्ने’, संयुक्त वक्तव्यमा भनिएको थियो, ‘पोखराबाट सीधा उडान गरी बजारको आवश्यकता, व्यापार र आर्थिक अन्तरक्रियाका लागि हवाई रुट व्यवस्थापन गर्ने।’

चीनले राहत सामाग्रीसहितका विमान पोखरामा अवतरण गराएर प्रधानमन्त्री प्रचण्डले बेइजिङमा गरेको सम्झौता स्मरण पनि गराएको छ।

‘चीनले सेनाको जहाज पोखरामै अवतरण गराउनु कूटनीतिकरूपमा पनि अर्थपूर्ण छ,’ एक कूटनीतिज्ञ भन्छन्, ‘विपत्तिको बेला भएको सहयोगमा पनि भूराजनीतिक प्रभाव र चासो देखियो।’
चिनियाँ सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतकै परियोजना भएको व्याख्या गर्दै आइरहेको छ।

तर, नेपालले बीआरआईमा हस्ताक्षर गर्नुअगाडि नै ऋण सहयोग सम्झौता भएको पोखरा विमानस्थललाई बीआरआईअन्तर्गतको परियोजना मान्न तयार छैन।
सहयोग सामाग्री बुझ्न पोखरा आएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुवै मित्रराष्ट्रप्रति कृतज्ञता प्रकट गरे।

‘सहयोगका लागि हामी दुवै मित्रराष्ट्रप्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छौँ। अहिलेको सहयोगलाई शक्ति संघर्ष (दुई देशबीच)को रूपमा बुझ्नु हुँदैन,’ विमानस्थलमै भएको पत्रकार सम्मेलनमा उनले भने, ‘उहाँहरू (भारत) ले नेपालगन्ज नजिक छ, सजिलै ल्याइदिन्छौँ भन्नुभयो। चिनियाँहरूले पहिला पनि पोखरामा उडान भरेकाले यहीँ सजिलो हुन्छ भन्नुभयो। यसलाई भूराजनीतिक प्रभावका रूपमा लिनुहुँदैन।’
चीन सरकारले नेपाललाई २८ करोड रुपैयाँ बराबरको आपतकालीन सहयोग प्रदान गरेको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

उनका अनुसार, विमानबाट ल्याइएका सामाग्रीमा ४६ सय तातो कम्बल र ६ सयवटा त्रिपाल छन्। गृहमन्त्री श्रेष्ठका अनुसार, चिनियाँ सहयोगका राहत सामाग्री नेपालगन्ज हुँदै गाडीमार्फत् सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा ढुवानी गर्नेछ।
गृहमन्त्रीले भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापनामा कमजोरी नभएको जिकिर पनि गरेका छन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय