बेलायतमा सधगुरुले भने, ‘नेपाली मेरो मुटुमा छन

२०७८ चैत्र ५, शनिबार
पढ्ने समय : 2 मिनेट

चैत्र ५
योगी सधगुरुले नेपालसँग आफ्नो आत्मीय सम्बन्ध रहेको बताएका छन्। ‘सेभ सोइल’ (माटो जोगाउँ) अभियान शुभारम्भका लागि लन्डनमा रहेका सधगुरुले बिहीबार लन्डनस्थित नेपाली दूतावासमा सम्बोधन गर्दै भने, ‘नेपाल र नेपाली मेरो मुटुमा छन् ।’
१७ वर्षयता हरेक वर्ष नेपाल पुग्दै आएका सधगुरुले नेपालको प्राकृतिक सम्पदा र सौन्दर्य अलौकिक रहेको भन्दै प्रशंसा गरे। ‘तर ती सम्पदाको उचित संरक्षण र व्यवस्थापनका लागि दूरदर्शिता टड्कारो छ’, उनले थपे ।
जलवायु परिवर्तनका कारण उत्पन्न प्रतिकूल अवस्थाले नेपालका सर्वोच्च हिमशिखरहरु पग्लिने र होचिने क्रम सरु भएकोमा उनले चिन्ता व्यक्त समेत गरे। ‘सेभ सोइल’ (माटो जोगाउँ) भन्ने सन्देशसहित सधगुरुले यही मार्च २१ तारिखमा लन्डनदेखि भारतसम्मको बाइकयात्रा सुरु गर्दैछन् । ३० हजार किमि दूरी उनले विभिन्न २७ देश पार गर्दै १ सय दिनभित्र पूरा गर्ने लक्ष्य राखेका छन् । आफ्नो अभियानबाट कम्तीमा ३ अर्ब मानिसले माटो जोगाउन संकल्प गरुन् भन्ने उनको आशा छ।
पर्यावरणीय सन्तुलनका लागि माटोको रक्षा सबैभन्दा महत्वपूर्ण रहने दाबी गर्दै सधगुरुले यसबारे संसारभरका मानिसलाई सचेत बनाउने र नीति निर्माताहरुलाई प्रभावित तुल्याउने लक्ष्य लिएको बताएका छन् ।

कार्यक्रममा राजदूत ज्ञानचन्द्र आचार्यले सधगुरुको अभियान र सन्देशले नेपाल जस्ता मुलुक बढी लाभान्वित हुने बताए । उनले नेपाल सरकारले ग्लास्गोमा हालै सम्पन्न कोप २६ सम्मेलनका क्रममा सन् २०४५ सम्ममा नेट जिरो र सन् २०३० सम्म वनको क्षेत्रफल ४५ प्रतिशत पु¥याउन योजना अघि सारेको स्मरण गरे ।
दूतावासकी उपनियोग प्रमुख रोशन खनालले सधगुरुलाई दूतावासमा स्वागत गर्न पाउनु गर्वको विषय भएको बताइन् । सधगुरु दूतावास प्रवेश गर्दा राजदूत आचार्य, दूतावास परिवार, पन्चकन्या, व्यवसायी रविजंग लामिछानेलगायतले स्वागत गरेका थिए ।

सधगुरुको सम्मानमा व्यवसायी लामिछानेले साँझ बेलायती संसद् भवनमा विशेष समारोह आयोजना गरे । सो अवसरमा बेलायती सांसद, लर्ड्स, नेपाली र भारतीय राजदूतहरु, विभिन्न समुदायका व्यवसायीलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय