फागुन १३,
— मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता लाई लिएर नेपाली राजनीतिमा तीव्र ध्रुवीकरण भइरहेका बेला चीनका नेताहरुले नेपालबारे प्रतिक्रिया दिने र नेपालका नेताहरुसँग संवाद गर्ने क्रम बढेको छ ।
बुधबार मात्रै चिनियाँ कम्युनिस्ट पार्टी(सीपीसी)का शीर्ष नेताले नेपालका दुई कम्युनिस्ट नेता सँग कुराकानी गरेका छन् ।
सीपीसीको अन्तर्राष्ट्रिय विभागका प्रमुख सङ ताओ र उपप्रमुख चेन चौले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग कुराकानी गरेका हुन् ।
सीपीसीका अनुसार ताओ र ओलीबीच बुधबार भिडियो कुराकानी भएको हो । दुई नेताबीच नेपाल र चीनबीच भएका सहमतिको कार्यान्वयन र दुई पार्टीबीचको आपसी समझदारीलाई अझ सुदृढ बढाउने विषयमा छलफल भएको सीपीसीले जनाएको छ । साथै नेपाल र चीनबीच विभिन्न क्षेत्रमा सहकार्य बढाउने विषयमा पनि छलफल भएको बताइएको छ ।



एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले भने बुधबार ओलीको जन्मदिन परेकाले शुभकामना दिनका लागि चिनियाँ नेताले टेलिफोन गरेको बताए ।
त्यस्तै सीपीसीको अन्तर्राष्ट्रिय विभागका उपप्रमुख चेन चौले पनि बुधबार नै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालसँग भिडियो कुराकानी गरेका हुन् । दुई नेताबीच दुई पार्टी र दुई मुलुकबीचको सम्बन्धका बारेमा छलफल भएको सीपीसीले जनाएको छ ।
सीपीसीले नेकपा एकीकृत समाजवादी पार्टीसँग सहकार्य गर्न चाहेको पनि विभागद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
लामो समय एमालेमा रहेका नेपालले केही महिनाअघि मात्रै नयाँ दल गठन गरेका हुन् । पार्टी र राज्य सञ्चालनका क्षेत्रमा आपसी अनुभव साटासाट गर्ने तथा बेल्ट एन्ड रोड इनिसियटिभको ’फ्रेमवर्क’ मा रहेर विभिन्न क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि छलफल भएको सीपीसीले जनाएको छ ।
कुराकानीमा नेता नेपालले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपाली भूभागमा चीन विरोधी गतिविधि हुन नदिने कुरामा सतर्क रहेको बताएका थिए । सीपीसीसँगको सहकार्यमा नेपाल–चीन मित्रता अझ प्रगाढ हुने विश्वाससमेत उनले व्यक्त गरेका थिए ।
चीनले एमसीसी पारित गर्न अमेरिकाले नेपालसामु दबाब दिइरहेको आरोप लगाउँदै आएको छ। केही दिनअघि चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले अमेरिकाले नेपालविरुद्ध धम्की कूटनीति सुरु गरेको बताएका थिए । उनले ‘अमेरिकाले नेपालसँगको सहकार्यको नाममा ’धम्की कूटनीति’ सुरू गरेको र चीनले प्रतिरोध गर्ने’बताएका थिए ।
त्यस्तै बुधबार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चिनयिङले एमसीसी भनेको ’उपहारसँगै अल्टिमेटमको पोको आउने हो’ भन्दै प्रश्न गरेकी थिइन् ।
एमसीसी सम्झौता अनुमोदनको विषय पेचिलो बनिरहेका बेला गत माघ १८ मा सीपीसीका नेता ताओले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भिडियो संवाद गरेका थिए ।




