कार्तिक २१
देवदह क्षेत्रको पर्यटकीय विकास र लुम्बिनी बौद्ध विश्वविद्यालय संचालनमा बिशेष जोड दिँदै स्वतन्त्र वाम उम्मेदवार घनश्याम भुसालसहित लोकतान्त्रिक बाम गठबन्धन पक्षले सोमवार रुपन्देही क्षेत्र नम्बर १ को प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
चुनावी प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा सरसफाई, पर्यटन, भूमि व्यवस्था, युवा स्वरोजगार तथा खेलकुद, भौतिक पूर्वाधार तथा सडक, विद्युत, सञ्चार, पुल तथा कलभर्ट, बाढी नियन्त्रण तथा तटबन्धन, औद्योगक तथा व्यवसायिक पूर्वाधार, शान्ति सुरक्षा, प्राकृतिक श्रोत साधन लगायतका विषयलाई समेटिएका छन् ।



रुपन्देही–१ मा प्रतिनिधि सभातर्फ स्वतन्त्र वाम उम्मेदवार भुसाल तथा प्रदेश १ (१) मा कांग्रेसका विश्वनाथ यादव र १(२) मा काँग्रेसकै अब्दुल रज्जाक उम्मेदवार छन् । उनीहरुले रुपन्देही १ मा समानुपातिक ढंगले बिकास गर्दै पाँच वर्ष भित्रमा विकासका पूर्वाधारहरुको निर्माण गरि दश वर्षभित्रमा रुपन्देही १ ले अलग्गै पहिचान दिन सक्ने क्षेत्रको रुपमा परिणत गर्ने प्रतिबद्धता गरेका छन् ।
‘देवदहको विकास भनेको रुपन्देही १ र रुपन्देही जिल्लाकोमात्र विकास नभएर राष्ट्रकै बिकाससँग जोडिएको छ’, प्रतिनिधिसभाका लागि स्वतन्त्र वाम उम्मेदवार घनश्याम भुसालले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै भने, ‘देवदहलाई लुम्बिनी र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडेर पर्यटकीय र आर्थिक विकासलाई पछ्याउने गरि प्रतिबद्धतापत्र तयार पारिएको छ ।’
भुसालका अनुसार, देवदह बुद्धको मावलीस्थल भएको प्रमाणित भए पनि बैज्ञानिक रुपमा पुष्टि गरि युनेस्को मार्फत् विश्व सम्पदा सूचिमा सुचिकृत गर्न जरुरी छ । ‘सूचिकृतका लागि बिशेष पहल गरिने भुषालले बताए । रुपन्देही १ निर्बाचन क्षेत्रमा उत्तरी क्षेत्रको तुलनामा दक्षिणी क्षेत्रमा शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार कम भएकाले समानुपातिक ढंगले विकास निर्माणका योजना संचालन गरिने भुसालले बताए ।
प्रतिबद्धतापत्रमा रुपन्देही १ मा बिशेषगरि सिंचाई, कृषि, तटबन्धन, शिक्षा, स्वास्थ्य लगायत आर्थिक विकास र भौतिक पूर्वाधार विकासमा विशेष जोड दिइएको छ ।



