कार्तिक २१
गृहमन्त्री बालकृष्ण खाँणले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको बाहिरी क्षेत्रमा बनेको पेरिमिटर सडकलाई सरकारको नाममा ल्याउने बताएका छन् । हाल उक्त सडक बिमानस्थलको नाममा रहेको छ । सडक बिमानस्थलको नाममा हुँदा सडकसँग जोडिएका जमिनको उचित मूल्यांकन हुन सकेको छैन ।



पाँच दलीय गठबन्धनका तर्फबाट रुपन्देहीको क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य खाँणले सोमवार मायादेवी–७, बनगाईमा आयोजित कार्यक्रममा बोल्दै निर्वाचन पछि उक्त सडकलाई सरकारको नाममा ल्याउन बिषेश पहल गर्ने बताएका हुन् । बिमानस्थल शिलान्यासदेखि उद्घाटनसम्म कांग्रेस नेतृत्वको सरकारको पालामा बनेको उल्लेख गर्दै उनले बिमानस्थललाई गतिसिलता प्रदान गर्ने र यस क्षेत्रका स्थानीयको समस्या समाधान पनि निर्वाचन पछि यही गठबन्धनको सरकारले गर्ने विश्वास दिलाए ।
उनले केही उम्मेदवारहरुले गौतमबुद्ध विमानस्थल हामीले बनाएको, विशेष आर्थिक क्षेत्र (सेज), बेलहिया–बुटवल व्यापारिक मार्ग, तिनाउ, दानव नदीमा बनेका पुलहरु हामीले निर्माण गरेको हो भन्ने जस्ता महत्वपूर्ण योजनाहरु देखाएर जस लिने कोसिस गरेको भन्दै यथार्थ बुझ्न आम मतदातासँग आग्रह पनि गरे । अर्को प्रशंगमा उनले पंचायत फाल्दा, राजतन्त्र फाल्दा र मुलुकमा संविधान जारी गर्दा आफूहरुले जे बोलेको, त्यो पूरा गरेको भन्दै आगामी दिनमा पनि बोलेका कुरा पुरा गरेरै छाड्ने प्रतिबद्धता जनाए ।



