विकासप्रति प्रतिबद्धलाई जिताऔंः गृहमन्त्री खाँण

२०७९ कार्तिक १८, शुक्रबार
पढ्ने समय : 2 मिनेट

कार्तिक १८
गृहमन्त्री बालकृष्ण खाँणले विकासको स्पष्ट खाका पाँच दलीय गठबन्धनसँग भएको बताएका छन् । मुलुुकमा, शान्ति, स्थिरता, विकास, शुसासन र समृद्धिका लागि पाँच दलीय गठबन्धन निर्माण भएको प्रस्टाउँदै उनले विकासको स्पष्ट खाकासहित गठबन्धन अगाडि बढेको दावी गरे । खाँणले विकासप्रति प्रतिबद्ध र योजना भएका उम्मेदवारलाई जिताउन पनि आग्रह गरे । उनले रुपन्देहीको विकास र समृद्धिको खाका आफूहरुसँग भएको जनाउँदै पाँच दलीय गठबन्धनलाई अत्याधिक मतले जिताउन अनुरोध गरे । खाँणले रुपन्देहीमा जनजीविका र राष्ट्रिय महत्वका योजनालाई एकीकृत गरी विकास गर्न जरुरी रहेको बताउँदै यसको नेतृत्व गठबन्धनले गर्ने प्रष्ट समेत पारे ।

शुक्रबार शुद्धोधन गाउँपालिकामा आयोजित तरुण प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खाँणले विकासका योजना नै नभएका, आफ्ना कुरा प्रष्ट राख्न नसक्ने, निर्वाचनपछि सरकारसमेत बनाउन नसक्ने नेतालाई जिताएर समृद्धिको सपना पूरा हुन नसक्ने उल्लेख गरे ।
उनले जनतामा भिजेका, विकासको झोला बोकेका उम्मेदवारलाई आगामी मंसिर ४ को निर्वाचनमा बिजयी बनाउन समेत आह्वान गरे । ‘रुपन्देहीको विकासले देश भरिका युवाहरुलाई उत्साहित गर्ने छ । नेपाल बनाउने अभिभारा हाम्रो काँधमा आएको छ । यसमा युवाहरुको साथ जरुरी छ’, उनले भने । नेकपा एमाले, राप्रपा र जसपाबीचको तीन दलीय गठबन्धन कुनै विचार, सिद्धान्तले पनि अग्रगमनको पक्षमा नरहेको आरोप लगाए । ‘एउटा दलले राजा ल्याउने भन्छ, अर्काले गणतन्त्रको वकालत गर्छ, अर्काले अझ फरक धारणा राख्छ’, उनले भने, ‘यस्तो गठबन्धनले कसरी संविधान, गणतन्त्र, संघीयताको रक्षा गर्नसक्छ ? विकास कसरी गर्छ ? त्यसैले यस्तो बेमेलको गठबन्धनबाट हामी सबै सजग हुनुपर्छ ।’

२०७४ सालको निर्वाचनमा एमालेले बहुमत ल्याउँदा सरकार चलाउन नसकेर महत्वपूर्ण समय खेर फालेको र राप्रपा त्यो भन्दा पहिला नै असफल भैसकेको भन्दै उनले मुुलुुकको बर्तमान ब्यबस्थालाई जोगाउँदै अग्रगमन चाहने सबैले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई बिजयी गराउनुुपर्ने बताए ।

पाँच दलीय गठबन्धनका तर्फबाट प्रदेश सभा ३ (क)का उम्मेदवार लोसपा नेता सन्तोषकुमार पाण्डेयले बोल्नै नसक्ने र क्षेत्रमा नआउने नेताबाट विकास सम्भव नभएको बताउँदै राष्ट्रको विकासका लागि गृहमन्त्री खाँणको जित जरुरी रहेको बताए । ‘उहाँमा (खाँण) अब मुलुकको नेतृत्वसमेत गर्नसक्ने क्षमता छ, त्यो सम्भावना पनि छ’, पाण्डेयले भने, ‘त्यसैले खाँणले जिते मात्रै विकास सम्भव छ । उहाँलाई सबैले साझा उम्मेदवार सम्झेर मतदान गरी जिताउनुपर्छ । यसमा हामी सबै लागौं ।’

क्षेत्र नम्बर ३ (ख) का उम्मेदवार एवं नेपाली काँग्रेसका नेता रामचन्द्र ढकालले अहिलेको निर्वाचन प्रतिगमन र अग्रगमन पक्षधरबीचको भएको बताए । उनले तीन दलीय गठबन्धन पश्चगमन र प्रतिगामी भएको जिकिर गर्दै पाँच दलीय गठबन्धन अग्रगमन पक्षधर भएकाले यसको जित जरुरी रहेको जनाए । कार्यक्रममा बोल्ने तरुण युवाहरुले गठबन्धनलाई जिताउन आफूहरु एकढिक्का भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय