रुपन्देही–३ मा एमाले, राप्रपा र जसपाको प्रतिवद्धतापत्र सार्वजनिक

२०७९ कार्तिक १८, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

कार्तिक १८

नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) को ३ दलीय तालमेलको तर्फबाट आसन्न निर्वाचनलाई मध्यनजर गर्दै १३० बुँदे योजनासहित प्रतिबद्धतापत्र बिहीबार भैरहवामा सार्वजनिक भएको छ ।

तीनदलीय तालमेलको तर्फबाट प्रतिवद्धतापत्र सार्वजनिक गरेपछि रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका उम्मेदवार, पूर्वमन्त्री तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहराले विगतमा पनि आफुले दीर्घकालीन विकासको योजना रुपन्देहीमा सञ्चालन गरेको र आगामी दिनमा पनि अझ बढी महत्वका योजना शुरुवात गर्ने बताए । उनले क्षेत्रको मानवीय, सामाजिक र भौतिक विकास नै सदैवः आफ्नो प्राथमिकता रहेको बताए ।

प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेश सभाको उम्मेदवार तथा जसपाका केन्द्रीय सदस्य महेन्द्र यादवले प्रतिवद्धतापत्रमा उल्लेख भएका योजनालाई अक्षरशः लागू गर्ने गरी काम गर्ने बताए ।

त्यसै गरी प्रदेश सभामा क्षेत्र नम्बर ३ (२) का उम्मेदवार तुलसी प्रसाद चौधरीले सामाजिक र मानविय विकासमा आफूहरुको मुख्य काम हुने बताए ।

एमाले, राप्रपा र जसपाको तीनदलीय तालमेलको तर्फबाट सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा पूर्वाधार निर्माण र विकासदेखि सञ्चार विकाससम्मको १३० बुँदे योजना समेटिएका छन् ।

प्रतिबद्धता लेखन समितिका संयोजक प्रा.डा.कपिलदेव लामिछानेको अध्यक्षता, राप्रपा केन्द्रीय सुशासन विभागका सदस्य शिवहरी शर्माको स्वागत, तथा एमाले शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु गौतमको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य भरत कुमार पोखरेल, पुर्वगृहमन्त्री तथा राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक निरञ्जन थापा, केन्द्रीय सदस्य स्वाती थापा लगायतले मन्तव्य राख्दै समग्र रुपन्देहीको विकासको लागि तीनदलीय तालमेलको टीमले काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय