, भदौ १७,
चीनले विगत तीन सातादेखि नेपालका दुई मुख्य व्यापारिक नाका केरुङ र तातोपानीमा पूर्ण प्रतिबन्ध लगाएको छ। तिब्बतमा कोरोना महामारी बढेको भन्दै नेपालसँगको व्यापारिक नाका ठप्प पारेको चीनले तिब्बतमै पर्ने कैलाश मानसरोवर दर्शन गर्ने पर्यटकहरुलाई भने हुम्लाको सीमा नाका हुँदै भित्र्याइरहेको छ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले हुम्लाको बाटो हुँदै कैलाश मानसरोवर दर्शन गर्ने पर्यटकहरु दैनिक गइरहेको जानकारी दिएकी छन्। उनले हुम्ला हुँदै पछिल्लो साता ४१० जना पर्यटकहरु मानसरोवर दर्शन गर्नका लागि गएको जानकारी दिइन्। उनले भनिन्, ’यहाँ चिनियाँ पक्षले त्यस्तो कुनै अवरोध गरेको छैन। सामान्य स्वास्थ्य प्रोटोकल अपनाएर हुम्ला हुँदै आएका पर्यटकहरुलाई सजिलै जान दिइरहेको छ।’



नेपालगन्जबाट हवाई मार्ग हुँदै आउने पर्यटकहरुलाई सिमकोट विमानस्थलमा थर्मल गन प्रयोग गरेर ज्वरो परीक्षण गर्ने, मास्क अनिवार्य गर्ने र स्यानिटाइजर प्रयोग गर्नुपर्ने स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकलाई आउन दिइएको प्रमुख जिल्ला अधिकारी परियारले जानकारी दिइन्। उनले थपिन्, ’हामीले यहाँ विमानस्थलमा आउने पर्यटकका लागि कोरोना महामारी नियन्त्रणका लागि आवश्यक स्वास्थ्य मापदण्ड अपनाएका छौं। यहाँबाट कैलाश मानसरोवर जाने यात्रुहरुका लागि पनि सीमा नाकामा चिनियाँ पक्षले आधारभूत हेल्थ प्रोटोकल पूरा गरेर सहजताका साथ जान दिइरहेको छ।’ उताबाट फर्किने यात्रुहरुलाई पनि आउन दिइएको प्रमुख जिल्ला अधिकारी परियारले जानकारी दिइन्।
हुम्लाको हिल्सा र लिमी लाप्चा सीमा हुँदै पर्यटकहरु तिब्बत प्रवेश गर्ने गरेका छन्। हुम्लाको हिल्सामा रहेको सीमा नाका हुम्लाका लागि मुख्य व्यापारिक नाका हो। उक्त नाकाबाट नेपाली व्यापारीहरुका सामान भने ल्याउन नदिइएको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर लामाले जानकारी दिए। उनले भने, ’विगत दुई वर्ष कोरोना महामारी नियन्त्रण गर्ने भन्दै हिल्सा नाका लगभग ठप्पजस्तै थियो। बीचमा केही समय खुकुलो पारिएको भए पनि हुम्लाको हिल्सा नाकाबाट सामान निर्यातमा चीनले रोक लगाएको छ। तर, पर्यटकहरुको आवतजावत भने भइरहेको छ।’
सन् २०२१ मा कोरोना महामारी नियन्त्रण गर्ने भन्दै हिल्सा नाका बन्द गरिए पनि पर्यटक लिमि लाप्चा हुँदै तिब्बत प्रवेश गरेका थिए। यस वर्ष पनि अधिकांश पर्यटक लिमि लाप्चा हुँदै मानसरोवर दर्शन गर्न तिब्बत प्रस्थान गरिरहेको नाम्खा गाउँपालिकाका अध्यक्ष लामाले बताए। उनले भने, ’सामान निर्यातमा रोक लगाएको तिब्बत प्रशासनले पर्यटकलाई भने धमाधम जान दिइरहेको छ। उनीहरुलाई त्यस्तो कुनै अवरोध छैन।’
हुम्लाकी प्रमुख जिल्ला अधिकारी परियारका अनुसार चीन प्रस्थान गर्ने अधिकांश पर्यटक भारतका रहेको र त्यसपछि एसियाका अन्य मुलुक र युरोपका छन्। उनले भनिन्, ’६४ जनाले कैलाश मानसरोवरको यात्रा गरेर फर्किसकेका छन्। ६५ जना गएकोमा एक जना बिरामी भएर आधा बाटोबाट नै फर्किएका छन्। पछिल्लो एक सातामा ४१० जना पर्यटक गएका छन् भने थप ६५ जना पर्यटक मानसरोवर जानका लागि सिमकोट आइपुगेका छन्।’
यसरी चीनले नेपालमा निर्यात ठप्प पारेको भए पनि पर्यटक भने भित्र्याइरहेको छ। चीनले दोहोरो मापदण्ड अपनाएको भन्दै नेपालका व्यापारीहरु आक्रोशित बनेका छन्। नेपाल हिमालय सीमापार वाणिज्य महासंघका महासचिव भरत कार्कीले चीनले तिब्बतमा कोरोना महामारी भएको भन्दै नेपाली व्यापारीका सामान सीमामा पुगेर जाँचपास भएका पनि रोकेर राखेको बताए। तर, हुम्लाबाट धमाधम सहजै विभिन्न मुलुकबाट आएका पर्यटकहरुलाई भित्र्याइरहेको छ। यसबाट चीनको उद्देश्य कोरोना महामारी रोक्ने भन्दा पनि अरु नै केही हो कि भनेर आशंका गर्नुपर्ने देखियो।’
विगत ३० महिनादेखि नेपालसँगको सीमामा चीनले आंशिक र पूर्ण प्रतिबन्ध लगाउँदै आएको छ। सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानमा देखिएको कोरोना प्रकोपले महामारीको रुप लिएपछि चीनले नेपालतर्फका नाकामा अघोषित नाकाबन्दीलाई निरन्तरता दिएको हो। ३० महिनादेखि नेपालबाट हुने निर्यात पूर्ण रुपमा ठप्प छ भने आयातमा पनि चीनले बाराम्बर नाका बन्द गर्दा समस्या भइरहेको छ। यसअघि पनि लगातारको आग्रहपछि चीनले स्वास्थ्य मापदण्ड पालना गर्दै दैनिक १४ कन्टेनरसम्म आउन दिने गरेको भए पनि दसैं नजिकिएसँगै नेपालको व्यापारीहरुले सामान ल्याउन थालेसँगै नाका पूर्णरुपमा ठप्प छ। परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन प्रस्थान गर्नुभन्दा दुई दिनअघि चीनले सीमानाका पूर्णरूपमा बन्द गरिदिएको थियो।
साउन २४ गते चीन प्रस्थान गरेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले २५ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटका क्रममा पनि नेपाल–चीन सीमा नाकालाई पूर्ण रुपमा सञ्चालन गर्ने विषयका कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जानकारी गराएको थियो। परराष्ट्र मन्त्रालयले साउन २६ मा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’दुवै पक्षले सीमा नाकामा संयुक्त महामारी नियन्त्रण संयन्त्र स्थापना गर्ने सहमति भएको छ। यसैगरी तिब्बतमा देखिएको पछिल्लो लहरको कोभिड महामारी नियन्त्रणमा आएपछि रसुवा–केरुङ तथा तातोपानी–झाग्मु नाकाबाट दुईतर्फी व्यापार सुचारु गर्ने र हिल्सा–पुलाङ नाकालाई एकतर्फी रुपमा खोल्ने सहमति भएको छ।’
तर, नाका खुलाउने विषयमा भने चीनले कुनै चासो दिएको देखिँदैन। नेपाल सरकारले व्यापारिक नाका खुला गरिदिन काठमाडौंस्थित चिनियाँ दूतावासलाई पत्र पठाएको छ। तर, उक्त पत्रको कुनै जवाफ भने नेपाल सरकारले प्राप्त गरेको छैन। नेपाल हिमालपार वाणिज्य महासंघका सचिव रामचन्द्र पराजुलीले व्यवसायी सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्न पनि तयार रहेको तर, सरकारले नेपालमा सामान आयात हुने वातावरण मिलाइदिनुपर्ने बताए।
चीनले भन्सार जाँचपास भएका कन्टेनर विगतमा कहिल्यै नरोकेको बताउँदै उनले भने, ’विगतमा भन्सार जाँचपास भइसकेपछि कहिल्यै पनि रोकेको थिएन। तर, यसपटक भने भन्सार जाँचपास भएर पनि १६ वटा कन्टेनर चिनियाँ पक्षले सीमा नाकामा नै रोकेको छ।’
सरकारले भने चिनियाँ पक्षलाई नाका खुलाउने विषयमा सहजीकरण गरिदिनका लागि पत्र पठाएको जानकारी दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायणप्रसाद रेग्मीले चिनियाँ दूतावासलाई नाका सहज बनाइदिनका लागि परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएको जानकारी दिए।
उनले चीनले भनेका र विश्व स्वास्थ्य संगठनले तय गरेका सम्पूर्ण स्वास्थ्य मापदण्डको पालना गरी नेपाली सामान ल्याएर चिनियाँ कन्टेनरलाई पूर्ण स्यानिटाइज गरेर फर्काउने विषयमा पनि छलफल भइरहेको जानकारी उनले दिए।



