साउन ३१
जनता समाजवादी पार्टी नेपाल, रुपन्देहीले संघीय संसदका दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गर्नु गलत भएको बताएको छ । पार्टीले विधेयक फिर्ताविरुद्ध भैरहवामा विरोध प्रदर्शन समेत गरेको छ ।
पार्टीको जिल्ला कार्यसमितिले मंगलबार भैरहवास्थित मिलनचोकमा आयोजना गरेको विरोध सभामा नेताहरुले लाखौं नागरिकलाई नागरिकताविहीन बनाउने उद्देश्यले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको आरोप लगाए ।



पार्टीका केन्द्रीय सदस्य महेन्द्र यादव, जसपा रुपन्देही संयोजक एवं पूर्वमन्त्री ओमप्रकाश यादव (गुुल्जारी), जसपा नेता एवं रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादव, शतिष मिश्रा, नागरिक समाजका आनन्दप्रसाद गुप्ता लगायतले बोल्दै नागरिकता विधेयक फिर्ता हुनु दुखद् भएको बताए । उनीहरुले अविलम्ब फेरि विधेयक राष्ट्रपतिकोमा पठाएर पारित गर्न माग गरे ।
गत साउन ६ गते संघीय संसदबाट पारित विधेयक प्रमाणीकरणका लागि साउन १५ गते राष्ट्रपति कार्यालय पठाइएको थियो । उक्त विधेयक संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएको भन्दै राष्ट्रपति भण्डारीले आइतबार साँझ प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् ।



