उपेन्द्र यादवलाई पछि पार्दै अशोक राई जसपाको पहिलो वरीयतामा

२०७९ श्रावण २०, शुक्रबार
पढ्ने समय : 2 मिनेट

साउन २०,
जनता समाजवादी पार्टी नेपाल (जसपा)मा वरियताक्रमको पहिलो नम्बरमा अशोक कुमार राईलाई राखिएको छ । अध्यक्ष उपेन्द्र यादवलाई पछि पार्दै उनलाई वरीयताको पहिलो नम्बरमा राखिएको हो । यसअघि उनको वरीयता वरिष्ठ नेताको रुपमा तेस्रो नम्बरमा रहेको थियो । केन्द्रीय कार्य समिति पुनर्गठन गर्दा राईलाई एक नम्बरमा ल्याइएको हो । यसअघि डा.बाबुराम भट्टराईको वरीयता संघीय परिषद् अध्यक्षका रुपमा एक नम्बरमा थियो भने दोस्रो नम्बरमा अध्यक्ष उपेन्द्र यादवको वरीयता थियो ।
डा.बाबुराम भट्टराई पार्टी छाडेर गइसकेपछि सो ठाउँमा अशोक राईलाई ल्याइएको छ । पुर्नगठन गरिएको केन्द्रीय समितिमा वरिष्ठ नेतामा कसैलाई राखिएको छैन । यसअघि वरिष्ठ नेता रहेका राजेन्द्र श्रेष्ठलाई कार्यकारिणी समितिमा राखिएको छ ।

असार २९ गते वीरगञ्जमा बसेको केन्द्रीय समितिको बैठकले डा.बाबुराम भट्टराईलाई पार्टीको संघीय परिषद्को अध्यक्षबाट हटाएर राईलाई मनोनयन गरिएको थियो । तर पार्टीको विधानमा दुई अध्यक्षको व्यवस्था भएपनि यादवले केन्द्रीय समिति पुर्नगठन गर्दा एकजना अध्यक्ष मात्र राखेका छन् । पार्टीको विधान अनुसार दुईजना अध्यक्ष राख्नुपर्ने भन्दै डा.बाबुराम भट्टराईले पार्टीमा कुरा उठाएका थिए । त्यही विषयमा कुरा नमिल्दा डा.बाबुराम भट्टराई पार्टीबाट अलग भएका हुन् ।

जसपाका कार्यकारिणी सदस्य इस्तियाक राईन पनि दुईजना अध्यक्ष हुनुपर्ने पक्षमा थिए । तर भौतिक, पूर्वाधार तथा यातायात मन्त्री भए पछि उनी मौन छन् । यसैबीच आगामी निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयनका लागि संसदीय बोर्ड गठन गरिएको छ । केन्द्रीय समितिको अध्यक्ष प्रमुख रहने सो बोर्ड १३ सदस्यीय रहेको छ ।

बोर्डमा प्रदेश १ बाट दिपक याख्खा, मधेश प्रदेश बाट बालकिशोर यादव, हरिनारायण यादव, गोविन्द चौधरी रहेका छन् भने बागमती प्रदेशबाट लालबहादुर तामाङ, लुम्बिनी प्रदेशबाट सहसराम यादव, कर्णाली प्रदेशबाट वीरबहादुर शाही, सुदूरपश्चिमबाट हेमन्त माण्डव्य रहेका छन् । सो बोर्डमा संघीय परिषद्का अध्यक्ष, वरिष्ठ नेता तथा सहअध्यक्ष पदेन सदस्य रहने जनाइएको छ ।

बोर्डको सदस्यहरुमध्येबाट प्रमुखले तोकेका व्यक्ति बोर्डको सचिव रहने बताइएको छ । त्यस्तै, प्रदेश समिति, तथा राष्ट्रिय समितिका अध्यक्षलाई सम्बन्धित प्रदेशको संघीय संसद र प्रदेशसभाको उम्मेदवार बारे निर्णय गर्दा संसदीय बोर्डको बैठकमा आमन्त्रित गर्नुपर्ने पार्टीले व्यवस्था गरेको छ ।
जसपाले अगामी संघ तथा प्रदेशसभाको चुनावलाई लक्षित गरी निर्वाचन तयारी अभियान समितिको सचिवालय गठन गरेको छ । आठ सदस्यीय सचिवालयमा प्रदेश १ बाट नवराज गुरुङ, मधेश प्रदेशबाट चन्देश्वर सदा, चन्देश्वर प्रसाद सिंह, बागमती प्रदेशबाट पञ्चलाल महर्जन, गण्डकी प्रदेशबाट शर्मिला थापा, लुम्बिनी प्रदेशबाट मनिकर कार्की, कर्णाली प्रदेशबाट बलिराज शाही र सुदूरपश्चिमबाट भीमबहादुर थापा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय