असार ९
भारत र नेपाल जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ आज जनकपुरधाम आइपुगेको छ।
मंगलबार साँझ ७ बजे भारतको नयाँ दिल्लीबाट छुटेको सो रेल रामायण सर्किट हुँदै आज दिउँसो पौने २ बजे जनकपुरधाम आइपुगेको हो।



धार्मिक सांस्कृतिक प्रवद्र्धनका लागि झण्डै ५ सय यात्रुसहित जनकपुरधाम आएका तीर्थालुलाई जनकपुर रेल्वे स्टेशनमा भव्य स्वागत गरिएको छ।
धार्मिक सांस्कृतिक प्रवद्र्धन गर्ने उद्देश्यसहित पहिलो पटक झण्डै ५ सय यात्रुसहित सो रेल जनकपुर आएको हो।
रेल चढेर आएका तीर्थालुलाई जनकपुर रेल्वे स्टेशनमा मुख्यमन्त्री लालबाबु राउत, उद्योग पर्यटन तथा वनमन्त्री सत्रुधन महतो, जानकी मन्दिरका सह महन्त रामरोशन दास वैष्णव लगायत विभिन्न संघसंस्थाले भव्य स्वागत गरेका छन्।
रेल जनकपुरधाम आइपुगेपछि रेल्वे स्टेशनमा तीर्थालुहरु जय श्री रामका नारा लगाएका थिए।
उनीहरु आज जनकपुरको विभिन्न होटेलमा बास बस्ने छन्। साँझ जनकपुरको गंगासागरमा गंगाआरती तथा राति जानकी मन्दिरमा आयोजन हुने सांस्कृतिक कार्यक्रममा तीर्थालुहरु सहभागी हुने छन्।
भोलि जनकपुरको राममन्दिर, धनुषाधाम मन्दिर लगायतका धार्मिक सम्पदाको अवलोकन गरेपश्चात यहाँबाट भारत बिहारको सीतामढी उनीहरु बस चढेर प्रस्थान गर्ने जानकी मन्दिरका सह महन्त रामरोशन दासले जानकारी दिए ।
आज पहिलो पटक जनकपुरधाम आइपुगेको यो रेल नियमित रूपमै सञ्चालनमा रहने भारतीय रेल्वेका एक अधिकारीले बताए।
१८ दिने यात्राको लागि यो रेल महिना वा दुई महिनामा एकपटक रामायण सर्किटमा चल्ने ती अधिकारीको भनाइ छ।
ती अधिकारीका अनुसार सो यात्रा बापत प्रति यात्रु ६२ हजार ३ सय ७० रूपैँया भारु भाडा निर्धारण गरिएको छ। यात्रा अवधिभर होटेल, खाना लगायतका सबै खर्च रेल्वेले बेहोर्ने छ। सो रेलमा भारतीय वा नेपाली जो सुकैले यात्रा गर्न सकिने ती अधिकारीले बताए।



