जेठ ३१
नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान विन्दु नै गलत भएको बताउनुभएको छ ।
सोमवार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान गठबन्धन सरकार बन्दै गर्दा नेपाली नागरिकको हित र देशको हितमा काम गर्नेभन्दा पनि अन्य देशका लागि ‘कम्फर्टेबल’ बन्ने गरी अगाडि बढेको आरोप लगाउनुभयो । ज्ञवालीले सरकारले पछिल्लो समय केही निर्णयहरू अरू देशका ‘कम्फर्टेबल’ बन्ने किसिमले गरेको पनि बताउनुभयो । उहाँले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा गरेका गतिविधिको कारण नेपालको परराष्ट्र सम्बन्धमा विचलन आएको बताउनुभयो । सरकारले शुरुमा नै चीनसँग कृत्रिम सीमा विवादको विषय निकालेर गल्ती गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारका कतिपय निर्णयहरू अरू देशका लागि कम्फर्टेबल बन्ने दिशातिर उन्मुख भएको देख्छु । सरकारले सुरुमा नै परराष्ट्र सम्बन्धमा गल्ती ग¥यो । नेपालको भारतसँग सीमा समस्या छ । सीमासम्बन्धी कुनै सन्धि नै भारतसँग भएको छैन । अघिल्लो सरकारले सिङ्गो सदन एक भएर कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालको नक्सा पास ग¥यो । यो सरकारले कुटनीतिक तहबाट पहल गरेर भोगचलनमा ल्याउनुपर्ने हो तर सरकार त्यो काम नगरेर विवाद नै नभएको चीनसँग सीमा समस्या देखाउने काम ग¥यो । सरकारले अध्ययन पनि ग¥यो तर सदनलाई जानकारी गराएको छैन ।’



उपमहासचिव ज्ञवालीले सरकारले एउटा छिमेकी देशलाई खुसी पार्ने र अर्कोलाई चिढ्याउने काम गरेको आरोप लगाउनुभयो । उहाँले एउटा देशलाई रिझाउने र अर्कोलाई चिढ्याउने काम गर्नु उचित नभएको जिकिर गर्नुभयो ।



