पार्टी एकताका लागि लोसपा लाई उपेन्द्रको आह्वान

२०७९ जेष्ठ २५, बुधबार
पढ्ने समय : < 1 मिनेट

जेठ २५,
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनलाई निरन्तरता दिइने बताएका छन्। बुधबार बिहान जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले पाँचदलीय गठबन्धन आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म रहिरहने बताएका हुन्।

उनले भने, ‘हामी फुटेर होइन, जुटेर अगाडि बढ्न चाहन्छौँ। सामाजिक न्यायको लागि, राष्ट्रहितको लागि गठबन्धन आवश्यक छ।’ गठबन्धन कहिले सफल र कहिले असफल हुने गरेको उनले बताए। प्रतिगामीलाई परास्त गर्न गठबन्धन आवश्यक रहेको उनको तर्क छ।
जसपाबाट अलग्गिएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पार्टी एकताका लागि उनले आह्वान गरेका छन्। मधेशको मत बाँडिँदा जनतालाई फाइदा नहुने भन्दै एकताका लागि आफूहरू तयार रहेको उनले बताए। यादवले भने, ‘उहाँहरू समीक्षा गरेर पार्टी एकताको लागि आउनुभयो भने हामी तयार छौं। विगतका गल्ती, त्रुटिलाई सच्याएर हामी अगाडि बढौँ। मधेशको मत बाँडिएर मधेसीलाई धेरै नोक्सान भयो। पार्टी फुटाएर होइन, जुटाएर अगाडि बढौँ।’
पार्टी एकताका लागि ढोका खुला रहेको उनले दोहोर्याए। उनले भने, ‘उहाँहरूलाई खुलेर सहयोग र स्वागत गर्न तयार छौँ। पार्टी एकताको लागि पनि हाम्रो ढोका खुला छ।’ उनले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र पुनः निर्धारण हुनुपर्नेमा पनि जोड दिए। मधेशमा ५३ प्रतिशत जनसंख्या रहेकाले सोही अनुसारको निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने उनको माग छ।
नागरिकता विधेयक संसद्को जारी अधिवेशनमा पेस भएर पारित हुने उनले उल्लेख गरेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय