लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदी को भ्रमण पछि २ साता मै १२ हजार भारतीय पर्यटक आए

२०७९ जेष्ठ २४, मंगलवार
पढ्ने समय : 2 मिनेट

जेठ २४
कोभिडले शून्य अवस्थामा पु–याएको लुम्बिनीको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको छ । पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ भएको लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण गरे सँगै भारतीय पर्यटकहरूको गन्तब्य पनि लुम्बिनी बन्दै गएको छ । यही जेठ २ गते मोदी बुद्ध जयन्तीको अवसरमा लुम्बिनी आएका थिए ।
त्यस यता मात्र लुम्बिनी आएर १२ हजार ७ सय ७० भारतीय पर्यटकले मायादेवी मन्दिर दर्शन गरेका छन् । भारतीय पर्यटक मात्र होइन आन्तरिक र तेस्रो मुलुकका पर्यटकको ग्राफ पनि बढेको छ ।
लुम्बिनी विकास कोषले दिएकोे तथ्याङ्क अनुसार मे महिना (१८ वैशाख देखि १७ जेठ सम्म)मा मात्र ७ सय ८२ जना पर्यटक विभिन्न ५१ वटा तेस्रो मुलुक बाट र ८६ हजार २ सय ४६ जना आन्तरिक पर्यटकले मायादेवी मन्दिरको दर्शन गरेका छन।् मायादेवी मन्दिर प्रवेश नगरेका तर लुम्बिनी घुम्न आएका पर्यटक पनि थुप्रै छन् ।

तथ्याङ्क अनुसार पछिल्लो दुई वर्षमा भारतीय पर्यटकको आगमन पनि बढ्दो छ । सन् २०२० मा भारतबाट मात्रै ३७ हजार २ सय ६ जनाले लुम्बिनीको दर्शन गरे । यो सङ्ख्या २०२१ मा बढेर ४३ हजार ७ सय ३२ पुग्यो ।

कोभिडको जोखिम कम हुँदै गएपछि विस्तारै पर्यटन व्यवसाय चलायमान हुन जाँदा पर्यटकको चहलपहल बढ्न थालेको हो ।सोही कारण पछिल्लो पाँच महिना अर्थात् २०२२ को मे महिनासम्म ६९ हजार ७ सय ७५ भारतीय पर्यटक लुम्बिनी आए ।

भारतीय सँगै तेस्रो मुलुकका पर्यटकको आगमन पनि बढ्दो पाइएको छ । सन् २०२१ मा एक हजार १९७ जना मात्र तेस्रो मुलुकको पर्यटक आएको मा सन् २०२२ को पाँच महिनामा दुई हजार ७३७ पुगेको छ ।
विदेशी पर्यटकहरू अधिकांश भियतनाम, जर्मनी, फ्रान्स, चीन, रसिया, स्पेन, थाइल्याण्ड, युके र अमेरिका का रहेका छन् । यीबाहेक तीन दर्जन बढी देशका पर्यटक पनि लुम्बिनी आएका छन् । विगतका वर्षमा श्रीलङ्कन पर्यटक आउने गरे पनि अहिले भने उक्त देशबाट पर्यटक आउने सङ्ख्यामा भारी गिरावट आएको छ ।

कोषले आन्तरिक पर्यटकका लागिसमेत टिकटको व्यवस्था गरेको छ । रुपन्देही, नवलपरासी र कपिलवस्तुबाहेक जिल्लाका आन्तरिक पर्यटकहरूबाट पनि प्रवेश शुल्क लिने गरेको छ ।

नेपाली विद्यार्थीहरूलाई भने ५० प्रतिशत सहुलियतमा टिकट दिने गरेको कोषले जनाएको छ । कोषका अनुसार बुद्धप्रतिको आस्था बढ्दै गएकाले उनको जन्मस्थल लुम्बिनी र मायादेवी मन्दिर आउने दर्शनार्थीहरूको सङ्ख्या बढ्दै गएको हो ।

लुम्बिनीमा ध्यानसम्बन्धी देशव्यापी कार्यक्रम हुने गरेको छ । त्रिपिटक च्यान्टिङ्गलगायत आध्यात्मिक कार्यक्रमसँगै अन्य कार्यक्रम पनि यहाँ हुने गरेको छ । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले हालै सञ्चालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थलले पनि बाह्य पर्यटकलाई आकर्षण गर्न सक्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय