कृषि बजार भवनभित्र हाटबजार सारिँदै, निवेदन दिन सिद्धार्थनगरको आग्रह

२०८२ चैत्र १९, बिहीबार
पढ्ने समय : < 1 मिनेट

भैरहवा चैत १९
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले हाटबजारलाई व्यवस्थित गर्न व्यवसायीहरुलाई निवेदन दिन आग्रह गरेको छ।
पालिकाको वडा नं. ५ र १३ मा लामो समयदेखि सञ्चालन हुँदै आएको साप्ताहिक हाटबजारलाई अब आधुनिक भवन (कृषि बजार भवन) भित्र व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि व्यवसायीहरुलाई निवेदनका लागि आग्रह गरिएको सिद्धार्थनगर नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जनाए ।
नगरपालिकाले हाटबजारका लागि कृषि हाटबजार भवन ए ब्लक निर्माण भइसकेको र बी ब्लक निर्माणाधीन अवस्थामा छ। सोही भवनभित्र हाटबजार सञ्चालन गर्ने नगर कार्यपालिकाको निर्णयअनुसार व्यवसायीहरुलाई सूचना प्रकाशित मितिले १५ दिनभित्र निवेदन पेश गर्न कार्यालयले जारी गरेको सूचना उल्लेख छ ।


हाल सडकछेउमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुलाई प्राथमिकतामा राख्दै नयाँ संरचनाभित्र स्थान उपलब्ध गराइने बताइएको छ। सूचना अनुसार, प्राप्त निवेदनका आधारमा व्यवसायको प्रकृतिअनुसार तरकारी, फलफूल, खाद्यान्न, फेन्सी तथा इलेक्ट्रोनिक्स लगायतका व्यवसायलाई भवनको भुईँतला, पहिलो र दोस्रो तलामा उपयुक्त स्थान दिइनेछ।
नगरपालिकाले तोकेको आर्थिक ऐनअनुसार व्यवसायीहरुले बहाल (भाडा) तिर्नुपर्नेछ। साथै, तोकिएको समयभित्र निवेदन दिने व्यवसायीलाई पहिले आउनेलाई पहिले अवसरको आधारमा प्राथमिकता दिइने उल्लेख छ।
निवेदन पेश गर्दा व्यवसाय दर्ता रहेको भए दर्ता प्रमाणपत्र र नागरिकताको प्रतिलिपि संलग्न गर्नुपर्नेछ भने निवेदन फारम नगरपालिकाबाट निःशुल्क उपलब्ध हुने कार्यालयले जनाएको छ । तत्कालिन नगर प्रमुख हरि अधिकारी हुँदा उक्त कृषि बजार भवन निर्माण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय