आँखादान’का लागि युसियमयस, लुम्बिनी नेत्रालय र आँखा बैंकबीच सम्झौता

२०८२ चैत्र १९, बिहीबार
पढ्ने समय : < 1 मिनेट

भैरहवा चैत १९
आँखादानका लागि युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल, भैरहवा (युसियमयस), लुम्बिनी नेत्रालय प्रालि र नेपाल आँखा बैंक (तिलगंगा आँखा अस्पताल, काठमाडौं) बीच सम्झौता भएको छ।
युसियमयसका जनसम्पर्क अधिकारी सुशील गुरुङका अनुसार, सम्झौता पश्चात अब इच्छुक व्यक्तिले मृत्यु पश्चात आफ्नो आँखाको नानी (कोर्निया) दान गर्न चाहेमा त्यो सुविधा युसियमयस, शिक्षण अस्पतालमा पाउनेछन्।सम्बन्धित संस्थाहरुले ‘आँखादान महादान’ भन्ने सन्देशलाई अघि बढाउँदै यसबाट दृष्टिविहीन व्यक्तिहरुलाई उज्यालो संसार देखाउने महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। आँखा दान मृत्युपछि मात्र गरिने प्रक्रिया हो भने यसमा आँखाको पूरै भाग नभई कोर्निया मात्र निकालिने भएकाले अनुहारमा कुनै विकृति नआउने जनाइएको छ। साथै, जुनसुकै उमेर, लिङ्ग वा रक्तसमूहका व्यक्तिले आँखा दान गर्न सक्ने र चश्मा लगाउने, मोतीविन्दु वा मधुमेह भएका व्यक्तिहरुले पनि दान गर्न सक्ने उल्लेख गरिएको छ।
सम्झौताअनुसार आँखा दानसम्बन्धी सम्पूर्ण प्रक्रिया व्यवस्थापन, स्वास्थ्यकर्मीलाई तालिम, प्राविधिक सहयोग, परामर्श, कागजी प्रक्रिया तथा जनचेतनामूलक सामग्री व्यवस्थापनको जिम्मा लुम्बिनी नेत्रालय प्रालिले लिनेछ। त्यस्तै, कोर्नियाको संकलन, परीक्षण, संरक्षण, गुणस्तर सुनिश्चितता वितरण तथा आवश्यक तालिमको व्यवस्था नेपाल आँखा बैंकले गर्ने बताइएको छ।
सम्झौता कार्यक्रममा युसियमयस शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार पीएस, युसियमयसका प्राचार्य प्रा.डा.लक्ष्मी पाठक, युसियमयसका मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा.साधन मुखी, लुम्बिनी नेत्रालयका अध्यक्ष सनतकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक हिराबहादुर शाह, तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.रिता गुरुङ्ग, नेपाल आँखा बैंकका मेडिकल डाइरेक्टर डा.लिना बज्रचार्यको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय