न्यु होराइजन स्कूल र होराइजन जीबीएस सेमिफाइनलमा

२०८२ मंसिर २८, शनिबार
पढ्ने समय : 2 मिनेट

भैरहवा, मंसिर २७
न्यु होराइजन स्कूल र होराइजन जीबीएस भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेका छन्। शनिबार सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा अमरज्योति बोर्डिङ स्कूललाई २ सय ५ रनले पराजित गर्दै न्यु होराइजन सेमिफाइनल पुगेको हो । यस्तै, होराइजन जीबीएसले देबदह बुद्ध पब्लिक इङ्गलिस स्कूललाई ७४ रनले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले ४ विकेट गुमाएर २ सय ३५ रनको विशाल लक्ष्य खडा गर्यो । उसका लागि प्रिन्स पाल र आरुष अधिकारीले अर्धशतकीय पारी खेले । प्रिन्सले ८९ रन र आरुषले ८२ रन बनाए । यस्तै, सफल भट्टराईले २१, समिरसिंह ठकुरी र अनिश भट्टराईले समान ११–११ रन जोडे । बलिङमा अमरज्योतिका सम्राट बराल र रवि खानले २–२ विकेट लिए ।
जवाफमा अमरज्योति १२ ओभर ४ बलमा सबै विकेट गुमाएर ३० रनमै समेटियो । उसलाई सस्तैमा रोक्न न्यु होराइजनका अनिश भट्टराईले ३, प्रिन्स पाल र अमृत अर्यालले २–२ तथा रिजन ढकोर र श्रीयांन्स ज्ञवालीले १–१ विकेट लिए । अमरज्योतिका आयुष श्रीवास्तवले सर्वाधिक १२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । प्रिन्स पाल प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।


यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजन जीबीएसले ६ विकेटको नोक्सानीमा १ सय ५६ रनको बलियो योगफल बनायो । उसका लागि अनुज अर्यालले ३९, शिवप्रसाद यादवले नटआउट ३४ र अरुणकुमार बेल्बासेले १६ रन बनाए । बलिङमा देबदह बुद्धका रोहित कुँवर, प्रिन्स शर्मा, कृष केसी, आयुष विक र आकाश विकले समान १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको देबदह बुद्धले ६ विकेट गुमाएर जम्मा ८२ रन बनायो र हार ब्यहोर्यो । उसका लागि रोहित कुँवरले ३० र आयुष पाण्डेले १६ रन बनाए । बलिङमा होराइजन जीबीएसका शाहज अर्याल र सहनअली मुसलमानले २–२ तथा कुशल पौडेल र अरुण बेल्बासेले १–१ विकेट लिए । शाहज अर्याल प्लेयर अफ द म्याच भइ पाँच सय रुपैयाँ पाए ।
रुपन्देहीका ३० वटा विद्यालयकोे सहभागिता रहेको प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुसाशित टिमलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगिता पुस १ गतेसम्म चल्ने छ । प्रतियोगितालाई पर्वत ज्वेलर्स, भैरहवाले प्रायोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय