भैरहवा मसिर २५
जेसिज बोर्डिङ सेकेन्डरी स्कूल र स्पांगल स्कूल भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बीहीबारका खेलमा विजयी भएका छन् । जेसिजले मणिमुकुन्द माविलाई ६ विकेट र स्पांगलले भैरहवा नमूना माविलाई ३४ रनले पराजित गर्दै जित निकालेका हुन् ।भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको मणिमुकुन्दले ६ विकेट गुमाएर ९४ रन बनायो । उसका लागि अर्पण तिमिल्सिनाले ३१ र प्रिन्स भट्टराईले १३ रन बनाए । बलिङमा जेसिजका अंकित पाण्डेले २ तथा सर्ताज आलम र आमोद बस्यालले १–१ विकेट लिए ।जवाफमा जेसिजले १३ ओभर २ बलमा ४ विकेटको क्षतिमा ९७ रन बनाउँदै जित हात पार्यो । उसको जितमा अमृत कुमार यादवले २५, सम्राट राई र साही आलमले समान २०–२० रनको योगदान गरे । बलिङमा मणिमुकुन्दका सुगम केसी, सुजन भण्डारी र विराट नेपालीले १–१ विकेट लिए । अमृतकुमार यादव प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।यस्तै, दोस्रो खेलमा टस हारेर ब्याटिङमा आएको स्पांगलले १८ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ३० रन बनायो । उसका लागि मैनउद्दिन खानले ३१, कृष्ण कोइरीले २३ र अविजित मल्लाहले २२ रन बनाए । बलिङमा भैरहवा नमूनाका सोमनाथ चौधरीले ४ र अर्षाद अली धुनियाले ३ विकेट हात पारे ।प्रतिउत्तरमा भैरहवा नमूना १५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै जम्मा ४६ रनमा समेटियो । उसका लागि मेहताब आलम र सत्यम हरिजनले १०–१० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा स्पांगलका निरज कुँवर र अर्मन खानले समान ३–३ विकेट लिए । अर्मन खान प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।रुपन्देहीका ३० वटा विद्यालयकोे सहभागिता रहेको प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुसाशित टिमलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगिता पुस १ गतेसम्म चल्ने छ । प्रतियोगितालाई पर्वत ज्वेलर्स, भैरहवाले प्रायोजन गरेको छ ।






