गतिशील लोकतान्त्रिक पार्टीद्वारा भैरहवामा अवधारणा सार्वजनिक

२०८२ कार्तिक २१, बिहीबार
पढ्ने समय : 2 मिनेट

 

भैरहवा कार्तिक २०
नयाँ गठन भएको गतिशील लोकतान्त्रिक पार्टीले मुलुकको आर्थिक समृद्धिसँगै रोजगारी बृद्धिका लागि विभिन्न एजेण्डा केन्द्रित आफ्नो पहिलो अवधारणा सार्वजनिक गरेको छ । बिहीबार भैरहवामा आयोजित कार्यक्रममा पार्टीका पदाधिकारी र सदस्यले पर्यटक बृद्धिका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा जोड दिएका छन।
कार्यक्रममा पार्टीका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक दिनेश प्रसाईं, पार्टी सदस्य तथा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत, केन्द्रीय सदस्य तथा लगानी बोर्डका पूर्वसीईओ राधेश पन्त र पर्यटन क्षेत्रका अध्येता ज्ञानेश्वर महतोले आफ्नो धारण राखेका थिए । कार्यक्रममा भैरहवा र आसपासका उद्योगी व्यवसायी र पर्यटन सरोकारवाला सहभागी थिए ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी ढंगले सञ्चालन गरी पर्यटन प्रवद्र्धन र आर्थिक विकास कसरी सम्भव छ भन्ने विषयमा आफ्नो अवधारणा सार्वजनिक गरेको हो । अध्यक्ष प्रसाईंले राजनीतिक दलहरूले समयानुकूल परिवर्तनलाई सम्बोधन गर्न नसक्दा समाजमा असन्तोष र आन्दोलन उत्पन्न भएको बताए । ‘समाजमा भइरहेको ग्यापले विग्रह ल्याएको छ, त्यसैले हाम्रो पार्टीले आर्थिक रूपान्तरण र सुशासनलाई मुख्य मन्त्र बनाएको हो,’ उनले भने ।


गतिशील लोकतान्त्रिक पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइसकेको छ । दर्ता प्रक्रियाका लागि करिब ५ सय सदस्यको प्रस्ताव तयार पारिएको पार्टी स्रोतले जनाएको छ ।
सदस्य बस्नेतले भैरहवा विमानस्थललाई सञ्चालनमा ल्याएर क्षेत्रीय पर्यटन कसरी विस्तार गर्न सकिन्छ भन्नेबारे विस्तृत रुपमा जानकारी दिएका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र भारतको नयाँ दिल्लीस्थित विमानस्थलबीच समानता रहेका कारण यहाँबाट वाइडबडी जहाज सञ्चालन गर्न सम्भव रहेको बस्नेतले बताए । विमानस्थल सञ्चालनका लागि कम्तिमा ५० वटा जहाज आवश्यक रहेको उनले बताए । आफूहरुले अभिभारा प्राप्त गरेमा जहाज खरिद गरेर भए पनि विमानस्थल चलायमान बनाउन सकिने अवधारणा पेश गरे ।
भैरहवा विमानस्थल सञ्चालनमा ल्याएर प्रत्येक वर्ष ५ लाख पर्यटकका दरले १० वर्षमा ५० लाख पर्यटक भित्र्याउन सकिने जानकारी दिए । योजना आयोगका पूर्व सीईओ पन्तले पार्टीले आर्थिक क्षेत्रमा आफ्नो ४० वर्षको अनुभवलाई आधार बनाएर मुलुकमा रोजगारी बृद्धिका लागि पर्यटन प्रमुख खम्बाका रुपमा रहेको बताए ।

त्यसपछि कृषि, शिक्षा र सूचना प्रविधिको बिकास गरेर मुलुक समृद्ध तुल्याउन सकिने निष्कर्षसहित पार्टीले एजेण्डा केन्द्रित अभियान सञ्चालन गरेको बताए । अर्का सदस्य महतोले पार्टीले अनुमानका भरमा एजेण्डा प्रस्तुत नगरेको बताए । टेबुलमा बसेर बिमर्श गरेर र कम्प्युटरमा तथ्यांक केलाएर वास्ताविकतामा आधारित मुलुक बनाउने एजेण्डा प्रस्तुत गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय