सिद्धार्थ उद्योग वाणिज्य संघ परिसरमा दशैं सस्तो बजार सुरु

२०८२ आश्विन ८, बुधबार
पढ्ने समय : < 1 मिनेट

भैरहवा असोज ८
रुपन्देहीको भैरहवामा बुधबारदेखि दशैं सस्तो बजार’–२०८२ सुरु भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले आयोजना गरेको बजारको एक कार्यक्रमकाबीच नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले उद्घाटन गरेका छन ।
सो अवसरमा बोल्दै अध्यक्ष शर्माले नेपाली गुणस्तरीय उत्पादन सुपथ मूल्यमा पाइन्छ भन्ने सन्देश दिन यस्ता बजारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन । शर्माले सामान किन्न सीमापारी जाने प्रवृत्तिलाई निरुत्साहित गर्न यस्ता बजारलाई निरन्तरता दिनुपर्ने उल्लेख गरेका छन । अध्यक्ष शर्माले बजारले नेपाली उपभोक्तालाई स्वदेशी बजारमा सामान किन्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन।
सिद्धार्थनगर नगरपालिका–१२ स्थित संघको भवन (परिसर) मा सञ्चालन गरिएको बजार असोज १२ गतेसम्म सञ्चालन गरिने संस्थाका अध्यक्ष नेत्र प्रसाद आचार्यले बताएका छन । पाँचदिने बजारमा दैनिक उपभोग्य खाद्यान्न, भाडा, जुत्ता–चप्पल, घरेलु उत्पादन लगायतका १४ वटा स्टल रहेको अध्यक्ष आचार्यले जानकारी दिएका छन । भैरहवा क्षेत्रका उपभोक्ता तथा अवलोकनकर्ताहरुको उल्लेखनीय उपस्थिति रहने अपेक्षा र ५० देखि ६० लाख रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको आचार्यले बताएका छन । बजार बिहान ११ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने सघले जनाएको छ।
आम उपभोक्तालाई सस्तो, सुलभ र गुणस्तरीय वस्तु तथा सेवाहरु एकै थलोबाट उपलब्ध गराउने, स्वदेशी तथा स्थानीय उत्पादनको उपभोग प्रवद्र्धन गर्ने, उचित मूल्यबारे उपभोक्ता सचेतना बढाउने, उपभोक्तालाई सस्तो सामान उपलब्ध गराउनका लागि निःशुल्क स्टल उपलब्ध गराउने र दशैं, तिहार, छठपर्व लगायतका महान पर्वहरुमा स्थानीय बजारलाई सक्रिय बनाउने बजारको मुख्य उद्देश्य रहेको आचार्यले बताए ।
अध्यक्ष आचार्यका अनुसार संघले भैरहवामा पहिलोपटक वि.सं. २०५८ सालमा दशैं र तिहार बजार, दोस्रोपटक २०५९ सालमा, तेस्रोपटक २०७९ सालमा र चौथोपटक २०८० सालमा दशैं बजार सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यो परम्परालाई निरन्तरता दिदै यस वर्ष पनि संघ परिसरमा बजार आयोजना गरिएको आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय