बैशाख १७
गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले बुधबार भेटवार्ता गरेका छन्।
नेपाल भ्रमणका लागि काठमाडौँ आएका भाजपा नेता चौथाईवालेले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गरेका हुन्।
भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतंकवादी आक्रमण घटनाको निन्दा गरे। मन्त्री लेखकले उक्त घटना दुखद् भएको बताउँदै आतंकवादी हमलाविरुद्धको घटनामा नेपाल सरकार छिमेकीमित्र भारतसित रहेको बताए।
मन्त्री लेखकले नेपाल–भारत बिचको सदियौं देखिको मित्रवत सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेसित कुराकानी भएको बताए।



सो भेटका अवसरमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले दुई देश बिचको सम्वन्ध थप सुदृढ गर्दै लैजाने विश्वास व्यक्त गरे।
उनले कश्मिर घटनामा एक नेपाली युवकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री लेखक मार्फत समवेदना समेत व्यक्त गरे।



