भैरहवा चैत ८
नेपाल ओलम्पिक कमिटीले बुद्ध जन्मस्थल लुम्बिनीका १० सामुदायिक विद्यालयहरुमा खेलकुदका विभिन्न सामाग्रीहरु बितरण गर्ने भएको छ ।
नेपालस्थित चिनियाँ राजदूतावासले लुम्बिनीमा आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटीलाई २ करोड ८० लाख रुपैयाँ बराबरको खेलकुद सामाग्री हस्तान्तरण गरेको हो । नेपालस्थित चिनियाँ राजदुत चेन सोङ्ले कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन ।
चीनको नयाँ लाइट फाउन्डेसनले चिनियाँ दूतावासमार्फत नेपाल ओलम्पिक कमिटीलाई उदारतापूर्वक खेलकुदका किटहरू प्रदान गरेको नेपाल ओलम्पिक कमिटीका महासचिव राजिव श्रेष्ठले बताए ।
खेलकुदका सामानसहितका किटहरूले लुम्बिनीका १० सरकारी विद्यालयका युवा खेलाडीहरूलाई सशक्त बनाउने तथा स्वास्थ्य, टोलीकार्य र खेलकुदको उत्कृष्टताको संस्कृति विकास गर्दै जाने महासचिव श्रेष्ठको भनाइ छ।
नेपाल ओलम्पिक कमिटीले लुम्बिनीका विद्यालयमा खेलकुद सामाग्री वितरणदेखि लिएर प्रयोग भए–नभएको निगरानी गर्ने, लुम्बिनीका विद्यार्थीहरूलाई उनीहरूको खेलकुदका सपनाहरू पूरा गर्न गुणस्तरीय उपकरणको पहुँच सुनिश्चित गर्दै, सँगै खेलकुदमार्फत उज्ज्वल भविष्य निर्माण गर्न र खेलकुदमा लगाव बढाउने नेपाल ओलम्पिक कमिटिका अध्यक्ष श्रेष्ठले बताए ।






