भदौ २३
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेकपा एमालेका नेताहरुको छुट्टाछुट्टै टोली चीन जाने भएको छ । लेखा आयोगबाट दुई टोली पालैपालो चीन जान लागेको हो ।
अध्यक्ष प्रा.डा. पुष्पराज कँडेलको नेतृत्वमा पाँच सदस्यीय टोली पर्सि बेइजिङ प्रस्थान गर्दैछ । ‘सेमिनार अन पब्लिक फाइनान्स रिफर्म फर नेपाल’ नामक सेमिनारमा सहभागी हुन उनीहरु त्यता जान लागेको आयोगका सचिव शिव अधिकारीले बताए ।
उनका अनुसार भदौ २६ देखि असोज ८ सम्म सेमिनार चल्नेछ । त्यस्तै,सचिव अधिकारीको नेतृत्वको पनि एक टोली जाँदैछ । एमाले संगठन विभागका प्रमुख काशिनाथ अधिकारीको भाइसमेत रहेको उनको नेतृत्वमा १० सदस्यीय टोली जान लागेको हो ।
उनीहरु सहभागी हुने करसम्बन्धी सेमिनार एक साताको हुनेछ । ‘लेखासम्बन्धी सेमिनारका लागि आयोगबाट दुई टोली जाँदैछ । अध्यक्षको नेतृत्वमा पर्सि एउटा टोली जान्छ । मेरो नेतृत्वमा एक टोली जाने भन्ने छ तर तय भइसकेको छैन । प्रस्ताव आएको छ । के हुन्छ हेरौं’,उनले भने ।
यसै गरी कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं सांसद महेन्द्रबहादुर शाही चीनको छङ्तु प्रस्थान गरेका छन । एअर चाइनाको उडान नम्बर सीए ४३८ मार्फत उनी आज दिउँसो १२ बजेर ५ मीनेटमा त्यता गएका हुन।
सोही उडानमार्फत नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन दम्पत्ती पनि चीन गएका छन ।