साउन १६
सामाजिक सञ्जाल एक्समा सक्रिय रहने नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ले दिएका अभिव्यक्तिलाई लिएर नेपालको प्रतिनिधि सभामा सांसदहरूले प्रश्न उठाएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरू रामहरि खतिवडा , सर्वेन्द्रनाथ शुक्ला,र अब्दुल खानले राजदूत सोङको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै उनलाई बोलाएर स्पष्टीकरण सोध्न सरकारलाई आग्रह गरेका छन् ।
गत असार २८ गते चितवनको सिमलतालमा २ वटा बस दुर्घटना भई ६२ यात्रुसहित बेपत्ता भएको विषयमा राजदूत सोङले भद्धा कटाक्ष र व्यङ्ग्य गरेको भन्दै सांसदहरूले आपत्ति प्रकट गरेका छन् ।
प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद खतिवडाले बेपत्ता यात्रु र हराएको बसको खोजीका बारेमा राजदूत सोङले भद्दा टिप्पणी गरेको भन्दै विरोध जनाए । उनले परराष्ट्र मन्त्रालयलाई चिनियाँ राजदूतलाई बोलाएर स्पष्टीकरण लिन आग्रह गरे ।



सांसद खतिवडाले भने,‘एक जना महामहिमले कूटनीतिक मर्यादा र आचार संहिता विपरीत अभिव्यक्ति दिन थाल्नुभएको छ । सर्च गर्ने टोलीलाई गुड लक अल द सर्च टिम भनेर ट्वीटरमा लेख्ने गरिएको छ । बस नखोज चुम्बक खोज भन्ने गरिएको छ । कमसेकम नेपाललाई आपत् पर्दा सहयोग गरौँ मानवीय समवेदनाको बारेमा बोलौँ । अप्ठ्यारो परेको बेलामा हाँसी मजाकमा नउडाऔँ भनेर म अनुरोध गर्न चाहन्छु । परराष्ट्र मन्त्रालयले सम्बन्धित राजदूतलाई बोलाएर स्पष्टीकरण लिइयोस् भन्ने अनुरोध गर्न चाहन्छु ।’
सिमलताल दुर्घटनामा बेपत्ता बस र यात्रुको खोजीमा नेपाल र भारतका टोली संयुक्त रूपमा खटिएका थिए । सो क्रममा बस खोज्न प्रयोग भएको चुम्बक समेत हराएपछि चिनियाँ राजदूत सोङले सामाजिक सञ्चाल एक्समा असभ्य टिप्पणी गरेका थिए ।
सोही विषयलाई लिएर प्रतिनिधि सभाको बैठकमा लोसपाका सांसद सर्वेन्द्रनाथ शुक्लले गत असार २८ गते त्रिशूली नदीमा २ वटा बस दुर्घटना भएको विषयमा कूटनीतिक नियोगको व्यक्तिले कटाक्ष गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
कुनै राजदूतको नाम नलिई उनले एकजना राजदूतले खोजीकार्यबारे सामाजिक सञ्जाल एक्समा व्यङ्ग्य र मजाक उडाउने काम गरेको र त्यो कूटनीतिक मर्यादा विपरीत भएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए । ती राजदूतले ३ दिनदेखि लगातार सामाजिक सञ्जालबाट बस दुर्घटनाको विषयलाई लिएर व्यङ्ग्य गरेकोले त्यसलाई नोटिसमा लिनुपर्ने बताए ।
सांसद शुक्लाले भने,‘७ दिनसम्म सय जनाभन्दा बढी ठुलो सङ्ख्याले खोजी गर्दा बस फेला नपार्नु दुर्भाग्यपूर्ण हो । तर त्यो भन्दापनि ठुलो दुर्भाग्यपूर्ण हो व्यङ्ग्यपूर्ण अभिव्यक्ति । दुर्घटनाबाट कैयौँ गाउँबासी अझै शोकमग्न छन् । त्यो अप्रत्याहित घटनाबाट सबै शोकमग्न रहेको बेला एकजना महामहिमले खोजी कार्यको मजाक उडाएका छन्, सामाजिक सञ्जाल एक्सको पोष्टमा । यो हेर्दा मित्रले पीडाबोध गर्नु त कहाँ हो कहाँ, संयुक्त प्रयासलाई निरन्तर लेख्दै अपहेलित गर्ने काम भइरहेको छ सभामुख महोदय ।’
सांसद शूक्लाले अगाडि भने,‘यो कृत्य कुनैपनि देशको कूटनीतिक मर्यादा विपरीत हो । नेपालको नेतृत्वमा भएको यो खोजीकार्यलाई सफल भएपनि, असफल भएपनि त्यसको मजाक उडाउने कार्य निन्दनीय हो । यसबारे सरकारलाई मैले ध्यानाकर्षण गराएँ । अहोरात्र खटिइरहेको हाम्रो सुरक्षा निकाय, हाम्रो मित्रराष्ट्रका विज्ञहरुको टोलीले गरिरहेको कार्यहरूको लगातार ३ दिनदेखि व्यङ्ग्य गर्ने काम भइरहेको छ, यसलाई नोटिसमा लिनुपर्छ र कूटनीतिक तरिकाबाट यसलाई रोक्नुपर्छ ।’
जनमत पार्टीका सांसद अब्दुल खानले चिनियाँ राजदूत छन् सोङले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणाप्रति निन्दा गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
खानले असार २८ मा त्रिशूली नदीमा खसेको दुई वटा बस र हराइरहेका यात्रुको खोजी गर्न भारतले टोली पठाउँदा चीनले आपत्ति जनाएको भन्दै जनमत पार्टीले निन्दा व्यक्त गर्ने बताए । उनले चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरे नेपाली जनताले सहन नसक्ने चेतावनी दिए ।
उनले भने,‘एउटा मित्र देशले विज्ञ टोलीसहित बस खोज्न सहयोग गर्दा अर्को मित्र राष्ट्र चीनको राजदूतले बसमा सवार मधेसी, मुस्लिम, थारू, दलित समुदायका साथै सम्पूर्ण नेपाली र नेपालीको दुःखमा नुनचुक छर्ने निन्दनीय अभिव्यक्ति एक्समा लेख्नुभएको छ । यसमा नेपाल सरकार गम्भीर हुनुपर्छ । हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप कुनैपनि देशको राजदूतले गर्न सक्दैन । नेपाली जनताले सहन सक्दैन ।’
खानले चीनका राजदूतले सामाजिक सञ्जाल एक्समा समाचार शेयर गर्दै हराएको बस खोज्न भन्दा पहिला चुम्बक खोज भन्ने अभिव्यक्ति दिनु आपत्तिजनक रहेको बताए ।



