साउन ९
तेस्रो कार्यकाल (प्राविधिकरूपमा चौथो) भर्खरै सुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई सन्देश पठाउँदै उत्तरी छिमेकी चीनका प्रधानमन्त्री ली छ्याङले आफ्नो देशसँग गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता सम्झाएका छन्।
चिनियाँ प्रधानमन्त्रीले बीआरआई र नेपाल–चीन रणनीतिक साझेदारीमा नयाँ प्रगति भएको देख्ने इच्छा प्रकट गरेका छन्।
लीले ओलीलाई पठाएको सन्देशमा भनेका छन्, ‘म सम्माननीय प्रधानमन्त्रीसँग मिलेर दुई मुलुकका नेताहरुबीच भएका महत्त्वपूर्ण सहमति कार्यान्वयन गर्न, चीन–नेपाल उच्च गुणस्तरीय बेल्ट एन्ड रोड सहकार्य तथा अन्य सहकार्य प्रवर्द्धन गर्न तथा विकास र समृद्धिका लागि दिगो र मैत्रीपूर्ण चीन–नेपाल रणनीतिक साझेदारीलाई थप अगाडि बढाउन चाहन्छु।’
सन् २०१७ मै हस्ताक्षर भएको बीआरआई ७ वर्षसम्म पनि कार्यान्वयनको तहमा नगएपछि चीन पहिल्यै असन्तुष्ट थियो। त्यसमाथि नेपालकै ठूलो दल नेपाली कांग्रेसले दोस्रो ठूलो दल नेकपा एमालेसँग नयाँ सत्ता समीकरण निर्माणको यात्रा थाल्नु ठीकअघि बीआरआईमा अनुदान मात्रै स्वीकार गर्ने निर्णय सुनाउनु चीनका लागि पक्कै पनि प्रिय थिएन।






