नेपालको राजनीतिमा चिनियाँ प्रभाव बढ्दै जाँदा वित्तीय अपराधको क्षेत्रमा पनि चिनियाँहरुको संलग्नता बढ्दै

२०८० चैत्र १३, मंगलवार
पढ्ने समय : 4 मिनेट

 

चैत १३
२०७२ सालमा भूकम्पपछि भारतले लगाएको अघोषित नाकाबन्दीपछि उत्तरतर्फ ढल्किएको नेपालमा पछिल्लो वर्षहरुमा राजनीति, वैदेशिक लगानी तथा व्यापारमा चिनियाँ प्रभाव बढिरहँदा अपराधमा पनि चिनियाँ नागरिकहरुको संलग्नता बढेको हो।
गत आव २०७९÷०८० मा विभिन्न अपराधमा १३१ जना विदेशी नागरिकहरु नेपालमा पक्राउ परेका थिए । यीमध्ये ४२ जना चिनियाँ नागरिक रहेको प्रहरीको तथ्यांकले देखाउँछ ।

पछिल्लो समय चिनियाँ नागरिकहरुको संलग्नता सुन तस्करीजस्ता संगठित अपराधदेखि प्रविधिको प्रयोगबाट हुने अपराधहरुमा पनि देखिन थालेको छ ।

द्वीदेशीय अपराध अनुसान्धानमा लामो अनुभव भएका नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्तमल्ल ठकुरी पछिल्लो समयमा आर्थिक विषयसँग जोडिएका अपराधहरुमा चिनियाँ अपराधीहरुको संलग्नता देखिनु जोखिमपूर्ण रहेको बताउँछन् ।

‘लगानी बढ्नु भनेको राम्रो हो एक किसिमले’, उनी भन्छन्, ‘तर, यो बीचमा हेर्दा जति पनि विदेशी मुद्रा सम्बन्धि अपराधमा समातिएका छन्, तिनीहरुमा धेरै चिनियाँहरुको संलग्नता देखिएको छ ।’

यस्तै, पहिला सुनको तस्करीको घटनाहरु पूर्वी एसियाबाट हुन्थ्यो भने हाल त्यो उत्तरतर्फबाट भइरहेको उनको भनाइ छ । ‘अवैध वन्यजन्तुको ओसार पसारमा पनि चिनियाँ अपराधीहरु संलग्न छन्,’ उनी भन्छन्, ‘यस्तै, प्रविधिजन्य अपराधमा पनि चिनियाँ नागरिकको संलग्नता देखिएको छ ।’

पछिल्लो पटकको ठूलो सुन तस्करीको घटनामा पनि चिनियाँ नागरिकहरुको संलग्नता रहेको आरोपमा प्रहरीले केहीलाई पक्राउ गरेको थियो ।
गत साउनमा राजस्व अनुसन्धान विभागले हङकङबाट आएको ‘ब्रेक सु’मार्फत भएको १५५ किलो सुन तस्करीसँग सम्बन्धित रहेको आरोपमा दुई चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई पक्राउ गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको थियो । सोही सुन प्रकरणमा दुई चिनियाँ नागरिक पक्राउ हुनुअघि अर्का चिनियाँ नागरिक ज्यास्यांग लिनलाई पनि पक्राउ गरिएको थियो ।

त्यस्तै, अवैध रुपमा लुकाई छिपाई विदेशी मुद्रा नेपाल बाहिर लैजान खोजेको आरोपमा पनि चिनियाँ नागरिकहरु पक्राउ परेका छन् ।

गत साउनमा नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई छिपाई बाह्य मुलुक लैजान लागेको १ लाख चिनियाँ युआनसहित चिनियाँ नागरिक होंग होंगलाई पक्राउ गरिएको थियो ।

गत असारमा स्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँ र २ हजार चिनियाँ युआनसहित दुई जना चिनियाँ नागरिक झु झियानछियान र झु जिनफांग पक्राउ परेका थिए ।

त्यसको एक महिनाअघि गत जेठमा अवैध अन्तर्राष्ट्रिय कल तथा एसएमएस बाईपासमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिक झाओ जिआंगपेंगलाई पक्राउ गरिएको थियो ।

पछिल्लो पटक फागुन २२ गते अवैध रुपमा बाह्य मुलुक लैजान लागिएको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक चुइ बिंगचान पक्राउ परेका थिए ।

नेपाल प्रहरीको तथ्यांककाअनुसार आर्थिक वर्ष २०७८÷०७८ मा अवैध मुद्रासँग सम्बन्धित कसुरमा ४ चिनियाँ नागरिक पक्राउ परेका थिए भने गत आर्थिक वर्ष २०७९÷०८० मा २ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ परेको थियो ।

प्रहरीको तथ्यांकअनुसार नेपालमा अपराधिक गतिविधिमा भारतपछि चिनियाँहरुको संलग्नता उच्च रहेको छ ।

२०७६ भदौमा काठमाडौंमा बैंकको एटिएम कार्डबाट रकम चोरी गरेको आरोपमा चिनियाँहरुको एक समूह नै समातिएको थियो।

त्यस्तै, सोही वर्ष पुस ७ गते १२२ जना चीनियाँ नागरिकहरुलाई समातिएको थियो । तर, उक्त घटनामा अध्यागमनको कानुन आकर्षित भएपछि सरकारले ती चिनियाँ नागरिकहरुलाई अध्यागमन विभागमै बुझाएको थियो । उनीहरुलाई चीनले एउटा हवाइ जहाजमार्फत आफनै देश फर्काएको थियो । यो तथ्यांक प्रहरीको अभिलेखमा जोडिएको छैन ।

यस्ता घटनाहरु बाहेक प्रहरीको अभिलेखमा रहेका घटनाहरुमा हेर्ने हो भने पछिल्लो पाँच वर्षमा नेपालमा पक्राउ परेका भारतीय बाहेकका ३३२ जना विदेशी नागरिकहरुमध्येमा चिनियाँहरुको संख्या १ सय रहेको छ ।

आर्थिक वर्ष २०७५÷०७६ देखि आव २०७९÷०८० सम्म पछिल्ला पाँच वर्षमा पक्राउ परेका विदेशी नागरिकहरुमध्येमा ३० प्रतिशतभन्दा धेरै चिनियाँ नागरिकहरु रहेका छन् ।

तथ्यांककाअनुसार आर्थिक वर्ष २०७५÷०७६ मा पक्राउ परेका ५३ जनामध्ये १५ जना चिनियाँ नागरिकहरु थिए । आव २०७९÷०८० मा आईपुग्दा १८० प्रतिशतको वृद्धि भएको छ । गत आर्थिक वर्षमा ४२ जना चिनियाँ नागरिकहरु पक्राउ परेका छन्।

अपराधिक गतिविधिमा पनि चिनियाँहरुको संलग्नता वित्तीय अपराधमा बढी संलग्न रहेको देखिन्छ ।

आव २०७५÷०७६ मा नेपालमा अपराध गरेको आरोपमा १५ जना चिनियाँ नागरिकहरु पक्राउ परेका थिए । यीमध्ये १ जना भन्सार छलि, २ जना ठगी र १ जना अवैध मुद्राको आरोपमा पक्राउ परेका थिए ।

त्यस्तै, आव २०७६÷०७७ मा नेपालमा कुल पक्राउ परेका ४३ जना विदेशी नागरिकमध्ये १४ जना चिनियाँ नागरिकहरु थिए । १४ जनामध्ये ९ जना चिनियाँ वित्तिय अपराधसँग सम्बन्धित विषयमा पक्राउ परेका थिए । जसमा ५ जना चिनियाँ नागरिक बैंकिंग कसुर, २ जना किर्ते र २ जना ठगीको मुद्दामा पक्राउ परेका थिए ।

आव २०७७÷०७८ मा नेपालमा २८ जना विदेशी नागरिक पक्राउ पर्दा १३ जना चिनियाँहरु थिए । १३ जना मध्ये पनि १ जना बैंकिंग कसुर र १ जना किर्तेमा गरि दुई चिनियाँ नागरिक वित्तिय संलग्नताका अपराधमा पक्राउ परेका थिए ।

यसैगरि, आर्थिक वर्ष २०७८÷०७९ मा कुल ७७ जना विदेशी नागरिकहरु पक्राउ परेकोमा १६ जना चीनियाँ नागरिकहरु पक्राउ परेका थिए । पक्राउ परेका १६ जना चिनियाँमध्ये वित्तिय अपराधमा संलग्न ८ जना रहेका छन् । जसमा ३ जना भन्सार छलि, १ जना बैंकिग कसुर र ४ जना चिनियाँ अवैध मुद्रामा पक्राउ परेका थिए ।

त्यस्तै, गत आर्थिक वर्ष २०७९÷०८० मा १३१ जना विदेशी नागरिक नेपालमा पक्राउ परेकोमा ४२ जना चीनियाँ नागरिक रहेका छन् । यी ४२ जनामध्ये पनि भन्सार छलीमा १ जना, ठगीमा ९ जना, अवैध मुद्रामा २ जना, चोरी १ जना, कल बाइपास १ जना, संगठीत अपराध ५ जना, दुरसञ्चार हानी नोक्सानीमा १ जना र बैंकिग ऐन सम्बन्धी कसुरमा २ जना गरि वित्तीय क्षेत्रसँग संलग्न अपराधमा २२ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

चालु आर्थिक वर्षमा पनि सुन तस्करीजस्ता संगठीत अपराधदेखि अवैध रुपमा मुद्रा विदेश लैजान खोजेकोजस्ता अपराधमा चिनियाँ नागरिकहरु पक्राउ परिरहेका छन् ।

कारगार व्यवस्थापन विभागकाअनुसार देशभरका कारागारहरुमा रहेका करिब १ हजार ४ सय विदेशी कैदिहरुमध्ये कम्तीमा ४० कैदिहरु चिनियाँ नागरिक रहेका छन् ।

पूर्व डिआईजी ठकुरी प्रविधिदेखि संगठित अपराधका गतिविधिहरुमा चिनियाँहरुको संगलनता बढ्दै जाँदा नेपालको सुरक्षा प्रणाली चनाखो हुनुपर्ने बताउँछन् । र यसका लागि दुई देशबीचको कानुन पालना गराउने निकायबीचको समन्वय पनि उत्तिकै आवश्यक हुने उनी बताउँछन् ।

‘दुई देशको कानुन पालना गराउने एजेन्सीबीच समन्वय हुनुपर्ने हो,’ उनी भन्छन्, ‘तर, समन्वय त्यत्ति राम्रो छ जस्तो लाग्दैन ।’
दुई देशका सुरक्षा निकायबीच भारतसँगको समन्वयको विषयमा धेरै जटिलता नभएको बताउँदै ठकुरी उत्तर(चीन)सँगको समन्वयमा भने ग्याप रहेको बताउँछन् ।

‘प्रविधिजन्य कसुरहरुमा चिनियाँहरुको संख्या बढिरहेको छ,’ ठकुरी भन्छन्, ‘तस्करीदेखि अन्य कुरामा, जहाँ पैसा जोडिन्छ, त्यहाँ चिनियाँ संलग्नता देखिएको छ ।’

विश्वभर व्यापार जसरी फैलिरहेको छ, त्यसबाट चिनियाँहरुको मुभमेन्ट पनि बढेको छ । जसका कारण नेपालमा पनि अपराधका घटनामा चिनियाँहरुको संलग्नता बढेको देखिन थालेको उनको बुझाइ छ ।

अपराधमा चिनियाँ संलग्नता बढिरहँदा दुई देशबीचको कानुन पालना गराउने निकायको संलग्नता महत्वपूर्ण हुने पूर्व डिआईजि मल्ल ठकुरी बताउँछन् ।

‘अहिलेको जमाना भनेको प्रविधिको जमाना हो । प्रविधिमा नेपालमा लगानी पर्याप्त छैन’, उनी भन्छन्, ‘यस्तोमा थप अपराध हुने जोखिम पनि बढिरहेका कारण बढिभन्दा बढी समन्वय चाहिन्छ ।’

चीनलाई चाहिँदा उसले ढोका खोल्ने र हामीलाई चाहिँदा ढोका नखोल्ने जस्तो भयो भने असहज हुने उनी बताउँछन् । ‘चीनसँग धेरै समन्वय छ जस्तो मलाई अहिले पनि लाग्दैन,’ उनी भन्छन्, त्यसैले, हाम्रो कानुन पालना गराउने संस्था र सरकारले दुई देशको ल इन्फोर्समेन्ट एजेन्सीबीच समन्वय बनाउनुपर्ने हुन्छ ।’

हाल यस्तो समन्वयको धेरै आवश्यकता देखिएको भन्दै उनी नियमित समन्वय हुने अवस्था सिर्जना गर्नु पर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय