कात्र्तिक ८



चीनका रक्षामन्त्री ली साङफूलाई जिम्मेवारीबाट हटाइएको छ। ग्लोबल टाइम्सका अनुसार मंगलबार चिनियाँ राष्ट्रपति सी चिनफिङले साङफूलाई रक्षा मन्त्रीसहित स्टेट काउन्सिलरको पदबाट हटाउने निर्णयमा हस्ताक्षर गरेका हुन्।
साङफूलाई सेन्ट्रल मिलिटिरि कमिसनको सदस्य पदबाट पनि हटाइएको छ। राष्ट्रपति सीले किङ घाङलाई पनि स्टेट काउन्सिलरबाट हटाएका छन्।
साङफू करिब दुई महिनादेखि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्। पछिल्लोपटक उनलाई बेइजिङमै अफ्रिका पिस एन्ड सेक्युरिटी फोरममा देखिएको थियो। त्यसपछि उनी सार्वजनिक रुपमा देखिएका थिएनन्। अन्तर्राष्ट्रिय मिडियाहरुले उनलाई घरमै कैद गरेर राखिएको हुन सक्ने अनुमानसहितको समाचार सम्प्रेषण गरेका थिए।
अहिले साङफूलाई जिम्मेवारीबाट हटाइएको भनिए पनि त्यसको कारण भने सार्वजनिक गरिएको छैन। उनी राष्ट्रपति सीका विश्वासपात्र थिए। उनलाई यही वर्षको मार्च महिनामा रक्षा मन्त्री नियुक्त गरिएको थियो। दुई महिनादेखि सार्वजनिक रुपमा नदेखिएका उनको अवस्था अहिले पनि अज्ञात छ।
यसअघि विदेश मन्त्री रहेका छिन काङ पनि सार्वजनिक रुपमा नदेखिएको खबर सार्वजनिक भएको थियो। पछि उनको ठाउँमा वाङ यीलाई फेरि विदेश मन्त्रालयको जिम्मेवारी दिइएको थियो। काङको अवस्था अहिले पनि अज्ञात छ। काङ पनि सीका विश्वासपात्र थिए।



