नेपाल–चीनबीच फ्रेन्डसिप ‘ड्रागन बोट रेस’ महोत्सव पोखरामा हुने

२०८० बैशाख २२, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

बैशाख २२ ,
नेपाल–चीनबीच फ्रेन्डसिप ‘ड्रागन बोट रेस’ महोत्सव सञ्चालन हुने भएको छ। पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरको आयोजनामा महोत्सव हुने भएको हो।

असार ८ र ९ गते पोखरामा हुने भएको छ। उक्त कार्यक्रममा पोखरा पर्यटन परिषद, नेपाल–चीन ओभरसिज एसोसिएसन सहआयोजकका रुपमा रहनेछन्।

दुई देशबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधुर बनाउन तथा नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रमका सम्बन्धमा बिहीबार नेपाल पर्यटन बोर्ड र चिनियाँ दूतावासका अधिकारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यको उपस्थितिमा बोर्डमा भएको हस्ताक्षर कार्यक्रममा नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र नेपालस्थित चिनियाँ दूतावासको तर्फबाट डेपुटी चिफ अफ मिसन डीसीएम वाङ जिनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

बोट रेस फेस्टिभल दक्षिण एसियामै पहिलोपटक आयोजना गर्ने चिनियाँ पक्षले जानकारी दिएको छ। रेसका लागि चीनबाटै आठवटा विशेषखालका बोटसहित अन्य सहभागीहरु नेपाल आउनेछन्।

हस्ताक्षर कार्यक्रममा बोल्दै पोखरामा मेयर धनराज आचार्यले यस प्रकारको कार्यक्रमले नेपालकै समग्र पर्यटनमा नयाँ आयाम थप्ने बताए। उनले यो कार्यक्रमले पोखराको पर्यटनमा नयाँ प्रडक्ट थपिने र यसलाई हरेक वर्ष आयोजना गरिने बताए।

बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले बोट रेस फेस्टिभलका माध्यमबाट पोखराको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताए।

चिनियाँ दूतावासका डीसीएम वाङजिनले पोखरा चिनियाँ पर्यटकको लागि आकर्षक गन्तव्य भएको उल्लेख गर्दै यो कार्यक्रमका माध्यमबाट दुवै देशबीचको सांस्कृतिक तथा जनस्तरको सम्बन्ध थप प्रगाढ हुने बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय