वैशाख १५,
पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले पशुपतिनाथ मन्दिरको दर्शन गर्न आफू उत्सुक रहेको बताएकी छन् । कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलसँगको भेटमा उनले उपयुक्त अवसरमा नेपालको भ्रमण तथा पशुपतिनाथ मन्दिर दर्शन गर्ने बताएकी हुन् ।
नेपालको पूर्वी क्षेत्रको सिमाना भारतको पश्चिम बंगालसँग जोडिएको छ । नेपालबाहिर सबैभन्दा बढी नेपालीभाषीहरू यस प्रदेशमा छन् । महावाणिज्यदूत ईश्वरराज पौडेलसँगको भेटमा मुख्यमन्त्री बनर्जीले नेपाल र नेपालीसँगको विशेष सम्बन्धको चर्चा गरेकी थिइन् । मुख्यमन्त्रीहरूले विदेश भ्रमणका लागि केन्द्र सरकारको अनुमति लिनुपर्छ । २०७८ मा भएको कांग्रेसको महाधिवेशनमा कांग्रेसले उनलाई अतिथिका रूपमा निम्तो पठाएको थियो । तर, केन्द्र सरकारबाट अनमुति नपाएकैले त्यसबेला उनी नेपाल जान सकिनन् ।
भाषा र साहित्यका माध्यमबाट आदिकवि भानुभक्त आचार्यले दुवै तिरका नेपालीभाषीलाई जोड्ने काम गरेको समेत भेटमा चर्चा भएको थियो । नेपालले तेस्रो मुलुकबाट सामान आयात गर्न पश्चिम बंगालको कोलकाता र हल्दिया बन्दरगाह प्रयोग गर्छ ।
सबैभन्दा बढी सामान यीनै बन्दरगाह हुँदै नेपाल भित्रिन्छ । आन्तरिक सुरक्षा तथा भौतिक पूर्वाधारको सुविधाका सन्दर्भमा प्रदेश सरकारको निर्णायक भूमिका रहन्छ । महावाणिज्यदूत पौडेलले कोलकाता हुँदै भइरहेको व्यापारलगायतका सन्दर्भमा मुख्यमन्त्रीसँग छलफल भएको बताए । त्यसबाहेक सीमासम्म पुग्ने सडकलगायतका भौतिक पूर्वाधारको स्थिति तथा प्रदेश सरकारबाट प्राप्त हुनसक्ने सेवा सुविधाका सन्दर्भमा कुराकानीको अवसर प्राप्त भएको उनले उल्लेख गरे ।



मुख्यमन्त्रीसँगको भेटमा पश्चिम बंगाल सरकारका मुख्य सचिव हरिकृष्ण द्विवेदी पनि उपस्थिति थिए । अनौपचारिक भेटघाटहरू पटक–पटक भए पनि औपचारिक रूपमा मुख्यमन्त्री बनर्जीसँग उनको कार्यालयमा वाणिज्यदूतले पहिलो पटक भेटेका हुन् ।
नेपालमा उत्पादित बिजुलीको बजार पश्चिम बंगाल हुनसक्ने तथा पश्चिम बंगाल र नेपालबीच व्यापारको वृद्धिका सम्भावनाहरुमाथि पनि चर्चा भएको उनले उल्लेख गरे । ‘नेपालप्रतिको भावनात्मक सम्बन्ध र स्नेह उहाँमा अत्यधिक पाए,’ पौडेलले भने ‘पशुपतिनाथ दर्शनका लागि उपयुक्त समयको पर्खाइ पनि देखियो ।’ पश्चिम बंगाल र नेपालबीच विभिन्न तहमा व्यापारिक सम्बन्धहरूको विस्तार गर्ने भइरहेकालाई थप सुदृढ बनाउने विषयमा बनर्जीले जोड दिएकी थिइन् ।
२०७२ को महाभूकम्पका बेला मुख्यमन्त्री बनर्जी स्वयं सक्रिय भएर पश्चिम बंगालबाट नेपाली जनताले प्राप्त गरेको सहयोगलाई नेपालीले सम्झिरहेको स्मरण गराउँदै त्यसका लागि पौडेलले पुनः धन्यवाद व्यक्त गरेका थिए । नेपालका लागि कलकत्ता समुद्रसँग जोड्ने ‘गेट वे’ हो । तेस्रो मुलुकबाट आएका एक लाखभन्दा बढी कन्टेनर सामानहरू यहाँबाट प्रतिमहिना नेपाल जान्छ ।



