चीनद्वारा सीमापार ई–कमर्स तालिम सुरू, नेपालबाट पनि सहभागी

२०८० बैशाख ७, बिहीबार
पढ्ने समय : 2 मिनेट

वैशाख ७
सीमापार ई–कमर्सलाई अघि बढाउने उद्देश्यले चीनको वाणिज्य हब मानिने यी वु सहरले विदेशी उद्यमीहरूलाई प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिमिङ) सम्बन्धी तालिम दिन सुरू गरेको छ।
पहिलो चरणको पाँच दिवसीय तालिममा नेपालसहित भारत, कोरिया, इराक लगायतका देशबाट युवा उद्यमीहरूले सहभागिता जनाएका छन्। यी वु औद्योगिक तथा वाणिज्य कलेजले समन्वय गरेको यो तालिममा अनलाइन तरिकामार्फत् नेपालबाट ५० भन्दा बढी उद्यमीहरूले भाग लिएको नेपाल–चीन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री यी वु कार्यालयका प्रमुख विष्णु दुमरूले बताए।
‘नेपाली सामान चीनमा बेच्नका लागि के कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भन्ने अवधारणाका साथ चिनियाँ उद्यमीहरू पनि सहभागी थिए’, दुमरूले भने, ‘नेपाली करिब ५ दर्जन उद्यमीहरुले उत्साहजनक रुपमा भाग लिए। यो पहिलो चरणको तालिम हो, दोश्रोमा केही परिमार्जन गर्दै भविष्यमा निरन्तर पाक्षिक रुपमा गर्दै जाने उनीहरूको सोच छ।’

पूर्वी चीनको चच्याङ प्रान्तमा पर्ने यी वु सहरलाई चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङले ‘ई–कमर्स भिलेज’ घोषणा गरेका थिए। त्यसपछि अलिबाबा सहितका ई–वाणिज्य व्यवसायहरू प्रतिष्पर्धात्मक रुपमा यहाँ भेला भएका छन् भने अधिकांश वाणिज्य कलेजहरू स्थापित छन्। विगतमा नेपाली विद्यार्थीहरू यहाँ अध्ययन गरेका कारण आयोजकले नेपाललाई छनोट गरेको दुमरूले जानकारी दिए।तालिममा यी वुमा वाणिज्य अवसरहरू, व्यापार गर्ने तरिका, टिकटक ओभरसीज ई–कमर्स इकोलोजिकल विकास र अवसरहरू, लाइभ स्ट्रिमिङ मार्केटिङ, क्रस–बोर्डर ई–वाणिज्य लाइभ स्ट्रिमिङ स्क्रिप्ट, कसरी उत्कृष्ट क्रस–बोर्डर ई–कमर्स लाइभ स्ट्रिमिङ एङ्कर बन्ने जस्ता विषय समावेश छन्।
चीनले गरिबी निवारणका लागि स्थानीय कृषि उत्पादनलाई ई–वाणिज्यको माध्यमबाट गतिशील बनाएको थियो। सामान अर्डर गरेको केही घण्टामै घरदैलोमा पुर्याउन सकिने यातायात व्यवस्था भएका कारण चीनमा यसप्रकारको वाणिज्य संभव भएको हो। नेपालमा कमजोर यातायातका कारण ई–वाणिज्य फस्टाउन गाह्रो हुने देखिएपनि क्रमशः यो अवधारणाले सार्थकता पाउने दुमरूको दाबी छ। ‘यो तालिमबाट नेपालमा ई–बिजनेसको महत्व बुझ्ने र अहिले पठाओ वा यस्तै सानातिना माध्यमहरूजस्तै भोलि ट्रान्सपोर्टेसनको राम्रो व्यवस्था बन्न सक्छ। माग बढ्ने बित्तिकै नेपालमा सम्बन्धित निकायको ध्यान जानसक्छ,’ उनले भने।

नेपाललाई दक्षिण एसियाको ‘गेटवे’ का रुपमा मान्दै आएको चीनले छिट्टै यी वुबाट चिनियाँ डेलिगेट्स नेपाल पठाउने बताएको छ। विश्वव्यापीकरण र इन्टरनेटको निरन्तर विकाससँगै क्रस बोर्डर ई–कमर्स बजारलाई चीनले निकै महत्व दिएको छ। क्रस–बोर्डर ई–कमर्स लाइभ स्ट्रिमिङ ई–वाणिज्य बजारमा एक महत्त्वपूर्ण बिक्री विधि बनेपछि चीनले विश्वव्यापी उपभोक्ताहरूसम्म पुग्ने, व्यवसायहरूको लागि विश्व बजार खोल्ने, उपभोक्ताहरूलाई थप सहज र उत्पादनहरू प्रवर्द्धन गर्ने माध्यम बनाएको छ। अप्रिल १६ तारिखबाट सुरू भएको पहिलो चरणको लाइभ स्ट्रिमिङ सम्बन्धी तालिम २० तारिख सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय