वैशाख ६
चीनले ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) अन्तर्गत नेपालमा सञ्चालन गरेको ‘द स्माइलिङ चिल्ड्रेन स्कुल फिडिङ’ परियोजनाले एक वर्ष पूरा गरेको छ । परियोजनाबाट नेपालका ४७ विद्यालयका ९ हजार २ सय १६ बालबालिका लाभान्वित भइरहेको चिनियाँ राजदूत छन सोङले जानकारी दिएका छन् ।
परियोजना एक वर्ष पूरा भएको अवसरमा मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र नेपालका लागि चिनियाँ राजदूत छनको उपस्थितिमा मंगलबार कार्यक्रम भएको थियो । राजदूत छनले उक्त सुरुवात गर्न पाउँदा आफूलाई खुसी लागेको बताएका छन् । उनले ट्वीट गर्दै यो परियोजनाका लागि ‘चाइना फाउन्डेसन फर रुलर डेभलपमेन्ट (सीएफआरडी)’ को प्रयास र समर्पणका लागि धन्यवाद पनि दिएका छन् । ‘बालबालिकाको हँसिलो अनुहार सबैभन्दा सन्तुष्टि कुरा हो,’ छनले ट्वीटरमा भनेका छन् ।
संयुक्त राष्ट्रसंघीय महासभालाई सन् २०२१ सेप्टेम्बरमा सम्बोधन गर्ने क्रममा चीनका राष्ट्रपति सी चिनफिङले जीडीआईबारे पहिलो पटक प्रस्ताव गरेका थिए । जीडीआईलाई संयुक्त राष्ट्रसंघको सन् २०३० को दीर्घकालीन विकास लक्ष्य हासिल गर्न परिपूरक भूमिका खेल्ने गरी अघि बढाइएको हो । चीनले संयुक्त राष्ट्रसंघको सहकार्यमा यसलाई कार्यान्वयनमा लगेको छ । नेपालले जीडीआईअन्तर्गत खाद्य सुरक्षा र गरिबी निवारणसम्बन्धी दुई परियोजना पाएको छ । खाद्य सुरक्षाअन्तर्गत ‘नेपाल स्माइलिङ’ परियोजना छ । यसका लागि चिनियाँ गैरसरकारी संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ ले खाद्यान्नको व्यवस्था मिलाउँछ । चीनका दुई सरकारी निकाय चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी र चिनियाँ वाणिज्य मन्त्रालय उक्त परियोजना कार्यान्वयन गर्ने मुख्य निकाय हुन् । गरिबी निवारणसम्बन्धी परियोजना दुर्गम भेगका विद्यालय र समुदायमा महामारी रोकथाम तथा पुनःस्थापनामा केन्द्रित छ ।






