तीन वर्षदेखि बन्द चीन जोड्ने दार्चुलाको टिंकर नाका चलाउन माग गर्दै स्थानीय काठमाडौँ मा

२०७९ चैत्र २९, बुधबार
पढ्ने समय : 2 मिनेट

चैत २९

कोभिड महामारीका कारण तीन वर्षदेखि बन्द चीन जोड्ने दार्चुलाको टिंकर नाका चलाउन माग गर्दै कालापानीछेउका स्थानीय काठमाडौँ पुगेका छन् । छिमेकी देशका दूतावासदेखि प्रधानमन्त्रीसम्मलाई भेटघाट गरी तिनले आफ्नो पीडा सुनाएका छन् ।

तिब्बतको ताक्लाकोट बजार जोड्ने टिंकर नाका तत्काल खुलाउनुपर्ने स्थानीयको प्रमुख माग छ । कोभिड महामारीले नेपाल—चीन जोड्ने सबै नाका बन्द थिए । चैत १८ देखि रसुवागढी र तातोपानी नाकाबाट आवागमन खोलिएको छ । हिल्सालगायत केही थप नाका वैशाख १८ देखि खोल्नेबारे दुई देशका अधिकारीबीच सहमति भएको छ । परम्परागत रूपमा सञ्चालित दार्चुलाको टिंकर नाका पनि तत्काल खुलाउन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र चिनियाँ दूतावासमा स्थानीयले लिखित अनुरोध गरेका छन् ।
दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ व्यासक्षेत्रमा छाङरु र टिंकर दुइटा मात्रै गाउँ छन् । व्यासी शौका जातिको मात्रै बसोवास भएको ती गाउँका स्थानीयले पुस्तौँदेखि ताक्लाकोटसम्म परम्परागत रूपमा व्यापार गर्दै आइरहेका थिए । नाका बन्द हुँदा स्थानीयको जनजीवन नराम्रोसँग प्रभावित बनेको स्थानीय व्यवसायी योगेश सिंह बोहराले बताउनुभयो । ‘अन्य वैकल्पिक पेशा नभएका व्यासवासीलाई टिंकर नाका बन्द हुँदा जीविकोपार्जनमै समस्या भइरहेको छ’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डलाई व्यासको प्रतिनिधिमण्डलले बालुवाटारमा भेटघाट गरेको छ । गाउँपालिका अध्यक्ष मंगल सिंह धामी नेतृत्वको टोलीमा निवर्तमान प्रदेशसभा सदस्य गेल्बु सिंह बोहरासहित छाङरु र टिंकर गाउँका दर्जन स्थानीय सहभागी छन् । टिंकर नाका सञ्चालनमा ल्याउन प्रधानमन्त्री र चिनियाँ राजदूतले सकारात्मक कुरा गरेकोमा स्थानीय आशावादी छन् । ‘
टिंकर नाका सञ्चालनकै लागि परराष्ट्र सचिव र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवसँग पनि व्यासको टोलीले भेटेर अनुरोध गरेको छ । ‘ढिलो नगरी नाका सञ्चालनमा आओस् भन्ने हाम्रो चाहना छ, यसकै लागि सबैतिर भेटघाट गरिरहेका छौं’ व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले भन्नुभयो । व्यासका स्थानीयले दार्चुला—टिंकर सडक निर्माण चाँडो सक्न र पर्याप्त बजेट उपलब्ध गराउन पनि सरकारसँग अनुरोध गरेका छन् । प्रधानमन्त्रीसँगको भेटघाटमा प्रमुख रूपमा यो विषय उठाइएको गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवरले बताउनुभयो । ‘बजेट नहुँदा दुई महिनादेखि सडक निर्माण बन्द भएको विषयबारे प्रधानमन्त्रीज्यूलाई जानकारी गरायौं, उहाँले यसबारे गम्भीरता देखाउनुभएको छ’ उपाध्यक्ष कुँवरले भन्नुभयो ।

व्यास गाउँपालिकाको वडा नम्बर ३ तुषारपानीदेखि वडा नम्बर १ को टिंकर भञ्ज्याङसम्मको ७८ किमि सडक निर्माण गर्न सरकारले दुई वर्षअघि सेनालाई जिम्मेवारी दिइसकेको छ । पहिलो वर्ष प्राविधिक र व्यवस्थापकीय तयारी गरेको सेनाले गत वर्षदेखि मात्र सडक निर्माण शुरु गरेको छ । गत आर्थिक वर्षमा वडा नम्बर २ को दुम्लिङसम्म ८ किमि लामो सडक निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय