६६९ मेगावाटको तल्लो अरुणको निर्माण अघि बढ्दै, क्यासकेड बनाउन पूरक इआइए गर्दै भारतीय कम्पनी सतलज

२०७९ चैत्र २८, मंगलवार
पढ्ने समय : 2 मिनेट

चैत २८
संखुवासभाको अरुण नदीमा पहिचान भएको ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना निर्माण अघि बढ्ने भएको छ।
आयोजना अघि बढाउन का लागि पूरक वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयारीको काम अघि बढेको छ। यो आयोजनाको पूरक इआइएका लागि वैशाख पहिलो साता सार्वजनिक सुनुवाइ हुँदैछ। खाँदबारी नगरपालिकामा वैशाख ४ गते, षडानन्द नगरपालिकामा ५ गते र चिचिला गाउँपालिकामा ६ गते सार्वजनिक सुनुवाइ गर्न लागिएको छ।

यो आयोजना भारतीय कम्पनी सतलज विद्युत निगमले निर्माण गर्न लागेको हो। कम्पनी भारतको केन्द्र सरकार र हिमालञ्चल प्रदेशको संयुक्त हो।
आयोजना संखुवासभाको अरुण नदीमा प्रस्ताव गरिएको छ। माथिल्लो तटीय क्षेत्रमा रहेको अरुण–३ जलविद्युत आयोजनाको (९०० मेगावाट) को टेलरेसबाट निस्कने पानीलाइ पुखुवामा सिधै संकलन गरेर १०.५ मिटर व्यास भएको १७.४ किलोमिटर सुरुङमार्फत सर्ज साफ्टसम्म पु¥याइने छ।

यसलाई दुईवटा ५.८५ मिटर व्यास भएको पेनस्टक पाइप हुँदै बेतिनीमा रहने सतही विद्युत गृहमा लगिनेछ। त्यहाँ प्रस्तावित चारवटा टर्बाइन मार्फत ६६९ मेगावाट विद्युत उत्पादन गरिनेछ। विद्युत उत्पादनपछि ७२.९ मिटर लामो टेलरेस टनेलमार्फत पानी पुनः अरुण नदीमा खसालिनेछ।

आयोजनाको सबै संरचना अरुण नदीको दायाँ किनारमा निर्माण हुनेछ। यो आयोजनाले वार्षिक कुल २९०१.०२ मिगावाट घण्टा ऊर्जा उत्पादन गर्न सक्छ।

२०७८ मा स्वीकृत इआइए प्रतिवेदन अनुसार आयोजना बाँधको उचाइ ५५ मिटर र जडित क्षमता ४७४.२५ मेगावाट थियो। पछिल्लो अध्ययनबाट यस आयोजनालाई बाँधरहित बनाइ माथिल्लो तटीय क्षेत्रमा रहेको अरुण तेस्रो जलविद्युत आयोजनाको क्यासकेड बनाउन र जडित क्षमता ६६९ मेगावाट कायम गरिएकाले पूरक इआइए गर्न लागिएको हो। आयोजनाको इआइए नेपाल इन्भाइरोन्मेन्टल एण्ड साइन्टिफिक सर्भिसेज प्रालि थापाथलीले गरिरहेको छ।

सरकारले संयुक्त रुपमा विकास गर्ने गरी भारतीय कम्पनीलाई यो आयोजना २०७८ असोजमा नै जिम्मा दिएको हो।

२०७७ माघ १६ गते बसेको लगानी बोर्डको ४६ औं बैठकले परियोजना निर्माण, स्वामित्वकरण, संचालन तथा हस्तान्तरण (बुट) ढाँचामा विकास गर्न भारतीय कम्पनीलाइ छनोट गरेको हो। दुई वर्षभित्र विस्तृत परियोजना अध्ययन (डीपीआर) सक्ने गरी जिम्मा दिइएको हो। तल्लो अरुण पिकिङ रन अफ दि रिभर (अर्ध–जलाशय) प्रकृतिको आयोजनाको हो।

सतलज त्यही कम्पनी हो जसले ९०० मेगावाटको अरुण–तेस्रो जलविद्युत आयोजना निर्माण गरिरहेको छ। करिब डेढ वर्षमा यो आयोजनाबाट विद्युत उत्पादनको लक्ष्य राखिएको छ। कम्पनीले ४९० मेगावाटको अरुण–४ जिम्मा पाएको छ।
७५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत आयोजना मागेको छ। हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले यो आयोजना चिनियाँ कम्पनीसँग मिलेर बनाउने गरी सम्झौता भएको थियो।

तर एचआइडीसीएलले यो आयोजना चिनियाँ कम्पनीसँग मिलेर बनाउन नसक्ने भन्दै लगानी बोर्डको कार्यालयलाई पत्राचार गरिसकेको छ। १०६१ को अपर अरुणसमेत निर्माण गर्ने भन्दै प्रस्ताव गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय