सञ्चारमन्त्री शर्मा भारत प्रस्थान

२०७९ चैत्र ७, मंगलवार
पढ्ने समय : < 1 मिनेट

चैत ७,
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा विभिन्न कार्यक्रममा भाग लिन मंगलबार भारत प्रस्थान गरेकी छिन् । मन्त्री शर्मा बुधबार र बिहीबार नयाँदिल्लीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन भारत प्रस्थान गरेकी हुन् ।
मन्त्री शर्मा बुधबार अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)को क्षेत्रीय कार्यालय उद्घाटनमा सहभागी हुने कार्यक्रम छ । नयाँदिल्लीमा स्थापना भएको आईटीयू एसिया प्रशान्त क्षेत्रीय कार्यालय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रम छ ।
सो कार्यक्रममा विभिन्न देशका सञ्चारमन्त्री सहभागी हुनेछन् । त्यस्तै मन्त्री शर्मा बुधबार नै विभिन्न देशका मन्त्रीहरू सहभागी हुने मन्त्रीस्तरीय संवादमा सहभागी हुनेछिन् ।

बिहीबार मन्त्री शर्माले भारतीय समकक्षी अश्विनी वैष्णवसित दुईपक्षीय भेटवार्ता गर्ने र शुक्रबार दिउँसो स्वदेश फिर्ता हुने कार्यक्रम रहेको मन्त्री शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए । मन्त्री शर्मा भारतस्थित नेपाली दूतावास र त्यहाँस्थित नेपाली समुदायले गर्ने कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम छ।

मन्त्री शर्माका साथ नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल, मन्त्रालयका सहसचिव गौरव गिरी, मन्त्री शर्माका स्वकीय सचिव हेमराज शर्मा पोख्रेल, नेपाल टेलिकममा प्रबन्धक विमल आचार्य भारत प्रस्थान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय