एकसाथ ४७० विमान किन्दै एयर इन्डिया

२०७९ फाल्गुन ५, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

फागुन ५,
टाटा समूहको स्वामित्वमा रहेको भारतको एयर इन्डियाले एकसाथ ४७० यात्री विमान किन्न गरेको सम्झौताले अमेरिका, फ्रान्स, बेलायतलगायत मुलुकले खुसी व्यक्त गरेका छन । सरकारी स्वामित्वको एयर इन्डिया कम्पनीको सेयरको ठूलो हिस्सा गत वर्ष टाटा समूहले किनेको थियो ।
एक वर्षयता टाटाले नै एयर इन्डिया कम्पनी सञ्चालन गर्दै आएको छ । टाटाले एयर इन्डियालाई विश्वस्तरको वायुसेवा कम्पनी बनाउने तयारीअनुसार एकैसाथ यति धेरै विमान किन्न लागेको बताइएको छ ।

 

यति ठूलो संख्यामा विमान खरिदको सम्झौता हवाई जगतमै सबैभन्दा ठूलो मानिएको छ । बीबीसीका अनुसार सन् २०११ मा अमेरिकन एयरलाइन्सले ४५० विमान खरिदको अर्डर गरेको थियो । एयर इन्डियाले किन्ने विमानमा अमेरिकी बोइङ कम्पनीको संख्या २२० तथा युरोपको एयरबस कम्पनीका २५० विमान छन । विमानसँगै सयौं इन्जिन पनि एयर इन्डियाले किन्दै छ । एकै पटक ठूलो परिणाममा गरिएको बिजनेसले अमेरिका तथा युरोपमा लाखौं मानिसले रोजगारी पाउने बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले एयर इन्डियासँगको सम्झौताले अमेरिकामा ४४ राज्यका १० लाखभन्दा बढीले रोजगारी पाउने भन्दै खुसी व्यक्त गरेका छन । रोजगारीका लागि कसैलाई चार वर्षको कलेजको डिग्रीको आवश्यकता नपर्ने उनले बताएका छन । विमान खरिदको सम्झौताले अमेरिका र भारतबीचको आर्थिक समझदारीको शक्तिलाई प्रदर्शन गरेको उनको भनाइ छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले पनि विमान खरिदको सम्झौताप्रति खुसी व्यक्त गरेका छन । भारत र फ्रान्स रणनीतिक साझेदारको एक नयाँ चरणमा प्रवेश गरेको उनले बताएका छन । विमान र सयौं इन्जिन खरिद सम्झौताले फ्रान्स, जर्मनी, बेलायतलगायतका देशमा पनि लाखौंको रोजगारी सिर्जना हुने आशा गरिएको छ । मंगलबार विमान खरिदको सम्झौता भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जे वाइडेन र प्रान्सका राष्ट्रपति म्याक्रोँसँग भिडियो कन्फ्रेन्समा वार्तासमेत गरेका छन । सरकारी स्वामित्वमा रहेसम्म ऋणमा डुबेको एयर इन्डिया एक वर्षकै फरकमा विश्वकै प्रतिस्पर्धी बन्ने तयारीमा छ । विमान खरिदका लागि टाटा समूहले ७० अर्ब डलर लगानी गर्दै छ । टाटा समूहले नै एयर इन्डिया स्थापना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय