पाकिस्तानको विदेशी मुद्रा सञ्चिति रित्तो, मुद्रा कोषको सहयोग लिने वार्ता पनि असफल

२०७९ माघ २७, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

माघ २७
चरम आर्थिक संकटबाट गुज्रिएको पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)बाट १.१ अर्बको सहयोग नपाउने भएको छ। पाकिस्तानको विदेशी मुद्रा सञ्चिति रित्तिएको अवस्थामा आईएमएफसँग वार्ता भएको हो।

पाकिस्तानी अधिकारी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बीच वार्ता अन्तिममा निष्कर्षविहीन भएको छ।

योसँगै पाकिस्तान कंगालीको बाटोमा जाँदै छ। हाल पाकिस्तानसँग एक महिनाका लागि पनि वस्तु आयात धान्ने विदेशी मुद्रा सञ्चिति छैन। साथै, आकासिएको विदेशी ऋणसँग पाकिस्तान निरन्तर संघर्ष गरिरहेको छ।

अत्यावश्यक अन्तर्राष्ट्रिय कोष नै खोल्ने उद्देश्यसहित आईएमएफ पाकिस्तान सरकारसँग १० दिने वार्तामा थियो। शुक्रबार इस्लामावादबाट फर्किदै गरेको आईएमएफ टोलीले १० दिनको वार्तालाई सकारात्मक भने पनि सहयोग दिने विषय टुंगो नलागेको बताएको छ। ‘आगामी दिनहरूमा भर्चुअल छलफल जारी रहनेछ,’ आईएमएफ मिसनका प्रमुख नाथन पोर्टरले एक विज्ञप्ति मार्फत भनेका छन्।

गत जनवरीमा पाकिस्तानको वार्षिक मुद्रास्फीति बढेर २७ प्रतिशत पुगेको थियो, जुन सन् १९७५ पछि कै उच्च हो। यसै वर्ष पाकिस्तानमा चुनाव पनि हुँदै छ, जसका कारण अर्थतन्त्रले अझ भयानक मोड लिन सक्ने आकलन भइरहेको छ।

सन् २०१९ मा पूर्व प्रधानमन्त्री इमरान खानको सरकार हुँदा पाकिस्तान आईएमएफको साढे ६ अर्ब डलरको एक्सटेन्डेड फण्ड फेसिलीटी कार्यक्रममा प्रवेश गरेको थियो। जुन प्याकेज गत वर्ष ७ अर्ब अमेरिकी डलरमा बढाइएको हो।

प्याकेज अन्तर्गतको नवौं समीक्षापछि १ अर्ब १८ करोड डलर आईएमएफले जारी गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय