नेपालबाट भारत को अयोध्या पुर्याईएको शिलालाई भारतमा भव्य स्वागत

२०७९ माघ १९, बिहीबार
पढ्ने समय : < 1 मिनेट

माघ १९,
भारत को अयोध्यास्थित राम जन्मभूमिमा भगवान रामको मूर्ति निर्माणका लागि नेपालको कालीगण्डकी नदीबाट ल्याइएको शिला राम मन्दिर निर्माण ट्रष्टलाई हस्तानान्तरण गरिएको छ । भारत पुर्याईएको उक्त शालिग्राम ढुंगालाई स्थानीयले भव्य स्वागत गरेका थिए।

बिहीबार अयोध्यामा एक समारोहबीच जनकपुरको जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले उक्त शिला राम जन्मभूमि मन्दिर निर्माण ट्रष्टका महासचिव चम्पत रायलाई हस्तान्तरण गरेका हुन् । समारोहमा विधिवत पूजा पाठ र मन्त्रोचारण गरिएको थियो । शिला हस्तानान्तरण समारोहमा पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसहित नेपालबाट आएका सयौं मानिसहरूको सहभागिता थियो ।

रामको जन्मस्थल भारतको अयोध्यामा भव्य राम मन्दिरको निर्माण भइरहेको छ । मन्दिरमा राखिने रामको मूर्ति निर्माणका लागि कालिगण्डकी नदीबाट शिला ल्याइएको हो । शालिग्राम पत्थर पाइने भएकाले कालीगण्डकी नदीको शिलाको छनोट गरिएको हो । म्याग्दीको कालीगण्डकी नदीबाट शिला उत्खनन देखि त्यसलाई अयोध्या पु¥याउने क्रममा बाटामा हजारौं भक्तजनले शिलालाई रामको स्वरुप मानेर पूजाआजा गरेका थिए ।

लामो समयको विवादपछि अयोध्यामा राम मन्दिरको निर्माण भइरहेको छ । राम जन्मभूमिस्थल विवादित थियो । मुसलमान समूदायको बाबरी मस्जिद र हिन्दुको मन्दिरलाई लिएर वषौं विवाद कायम थियो । एउटै जमिनलाई हिन्दुहरुले रामजन्म भूमि र मुसलमान आफ्नो पवित्र मस्जिदको स्थान दाबी गर्दै आएका थिए । भारतको सर्वोच्च अदालतले ९ नोभेम्बर २०१९ मा राम जन्मभूमिको पक्षमा फैसला सुनाएपछि मन्दिरको निर्माण हुँदैछ ।

७ फिट लम्बाई, ५ फिट चौडाई र ३.५ फिट मोटाईका २ थान शिला म्याग्दीबाट दुईवटा लहरीमा ल्याइएको हो । १८ सय करोडको लागतमा भारत सरकारले राम मन्दिरको निर्माण गर्दैछ । मन्दिर निर्माणसँगै अयोध्याको चौतर्फी विकासका विभिन्न योजनाहरु पनि एकैसाथ सञ्चालित छन् । सडक फराकिलो गर्ने, विमानस्थलको निर्माण, रेल्वे स्टेशनको आधुनिकीकरण लगायतका ५० बढी प्रोजेक्टमा काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय