माघ १३
नेपाल पर्यटन बोर्डले कोभिड महामारीपछिको नेपाली पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न विभिन्न देशमा सेल्स मिसन शुरु गरेको छ । बोर्डको वार्षिक कार्यक्रम अनुसार विभिन्न देशमा यस्ता कार्यक्रहरु भइरहेको र यसले नेपालको पर्यटनलाई थप चलायमान बनाउने बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले जानकारी दिए ।
‘बोर्डको वार्षिक कार्यक्रम अनुसार पर्यटन व्यवसायीहरुको सहकार्यमा विभिन्न देशमा सेल्स मिसनका कार्यक्रमहरु शुरु भएका छन् । यसले नेपालको पर्यटनलाई लयमा फर्काउन सहयोग गर्ने अपेक्षा गरेका छौं ।’ उनले भने ।



बोर्डले नेपाल एशोसिएसन अफ ट्राभल एण्ड टुर अपरेटर्स (नाट्टा) संगको सहकार्यमा भारत मा माघ १० गते वाराणसी (वनारस) , र ११ गते गोरखपुरमा सेल्स मिसन तथा बीटूबी कार्यक्रम सम्पन्न गरेको छ । भने माघ १३ गते लखनउमा कार्यक्रम को आयोजना गदैछ । कार्यक्रममा नेपालका पर्यटन व्यवसायी तथा भारतीय पर्यटन व्यसायीहरुको सहभागिता रहेको छ । सेल्स मिसन टोलीमा नेपालका ११ वटा विभिन्न ट्राभल कम्पनी, बुद्ध एयरलाइन्स र लुम्बिनी तथा भैरहवा क्षेत्रका पर्यटन व्यवसायीको पनि सहभागिता रहेको छ ।
गोरखपुर तथा वनारसमा आयोजित कार्यक्रममा नेपाल बोर्डका प्रबन्धक सुमन घिमिरेले नेपालको पर्यटनबारे प्रस्तुतिकरण दिँदै नेपाल र भारतबीच एतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्ध प्रगाढ रहेको र वनारस र नेपालका बीच धार्मिक पर्यटनमा सहकार्य गर्न सकिने र यसबाट दुवै देशलाई फाइदा पुग्ने बताए । उनले नेपाल नेचर कल्चर र एडभेन्चर सबै हिसावले उत्कृष्ट पर्यटकीय गन्तव्य भएको भारतीय पर्यटन व्यवसायीलाई नेपाल भ्रमण गर्न र नेपालको प्याकेज बेच्न आग्रह गरे ।
नाट्टाका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक विष्णु पाण्डेले नेपालले भारतीय पर्यटकका लागि विशेष ध्यान दिँदै क्रस बोर्डर पर्यटनमा जोड दिएको बताए । उनले भारतीय पर्यटकको स्वागत गर्न नेपाल सधैं तयार रहेको जानकारी दिँदै बीटुबी कार्यक्रमबाट हुने पर्यटकीय गतिविधीले दुवै देशको पर्यटन प्रर्वद्धन हुने बताए । यस्तै सिद्धार्थ होटल एशोसिएसनका संस्थापक अध्यक्ष तथा होटल संघ नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले नेपाल भारतीय पर्यटकहरुका लागि उत्कृष्ट गन्तव्य रहेको बताउँदै नेपाल आतिथ्यका लागि तयार रहेको बताए ।
गोरखपुर तथा वनारसमा आयोजित दुवै कार्यक्रममा भारतीय पक्षबाट भारतीयहरु नेपाल भ्रमण गर्न चाहिरहेको उल्लेख गर्दै सीमा हुँदै नेपाल प्रवेश गर्ने गााडिहरुको सहज आवात जावत हुनु पर्ने तथा पर्यटनका लागि विशेष प्याकेज तयार गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् । गोरखपुरमा आयोजित कार्यक्रममा उत्तर प्रदेश पर्यटनका क्षेत्रीय अधिकृत रवीन्द्र कुमारले यस प्रकारका कार्यक्रमले दुवै देशको पर्यटनलाई चलायमान बनाउनुपर्ने बताए ।



